Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिया बजारीकरणमा भारतीय बजारको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री

चिया बजारीकरणमा भारतीय बजारको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ११ २०८१


चिया बजारीकरणमा भारतीय बजारको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताएका छन् । काठमाडौंमा मंगलबार ‘नेपाली चियाका चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चियाको पहिलो निर्यात बजार भारत भएको तर भारत आफैं चियाको ठूलो उत्पादक भएकोले नेपाली चियालाई उचित मूल्य नदिने गरेको बताए ।

‘अब नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने हुन्छ । यसका लागि चियाको अक्सन विकल्प हुनसक्ने महसुस मैले गरेको छु । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन सरकारले पहल गर्छ,’ उनले भने । नेपाली नागरिकलाई उच्च गुणस्तरको चियाका बारेमा यस्तो कार्यक्रमले जागरुकता पैदा गर्नुका साथै स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्ने र बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत पुग्ने विश्वास उनको थियो ।

नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक रहेको भन्दै उनले नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्ने उनको प्रतिवद्धता थियो । स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्न जरुरी रहेको भन्दै उनले निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको बताए ।

मन्त्री अधिकारीले नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै नभइ सम्पदा भएकाले सबैले माया र प्रवर्द्धन गर्न सक्नुपर्ने बताए । कार्यक्रममा चिया विज्ञ सोनाम लामाले नेपालमैमा अर्थोडक्स चियाको बजार र संस्कृति निर्माणका लागि युवाहरूले अक्सनका लागि प्रतिस्पर्धामार्फत प्रक्रिया अघि बढाएकोमा खुसी व्यक्त गरे । आयोजक संस्था टी स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले चियामै भविष्य खोजिरहेका युवा उद्यमीहरूको पहललाई निजी क्षेत्र र सरकारले सहयोग गर्नुपर्ने बताए ।

चिया विज्ञ डा नरेन्द्र गुरुङले नेपालमा अक्सन केन्द्र सञ्चालनमा ल्याउन सकेको खण्डमा नेपाली चियाले विश्व बजारमा सहजै पहुँच विस्तार गर्ने बताए । चिया उद्यमी उषा सुब्बाले यस्तो किसिमको प्रतिस्पर्धाले उद्योगीहरुलाई प्रोत्साहित गर्ने र चियाको बजारीकरणमा फाइदा पुग्ने बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार