इलाम । सगरमाथा यूथ क्लब मोरङले दोस्रो आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि जितेको छ । सगमरमाथाले सलहेश फुटबल क्लब सिराहलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । सगरमाथाको जितमा बिजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो । खेलको तेश्रो मिनेटमा मिलन राईको पासलाई फिनिसिङ गर्दै सगरमाथाले उपाधि जितेको हो ।
उपाधिसंगै ५ लाख रुपैया प्राप्त गरेको छ । उपविजेता बनेको सलहेशले २ लाख ५० हजार प्राप्त गरेको छ । सलहेशले जोन ग्लोरी,सेवेए,कार्लोस साम र स्टेफेन गरी ४ विदेशी खेलाडी लिएर मैदान उत्रिएको थियो । म्यान अफ दि म्याच सगरमाथाका बिजय भुजेल घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । सलहेशले सेमिफाइनलमा झापाको बिर्तामोड युनाइटेडलाई र सगरमाथा यूथ क्लब मोरङले गृहटीम सङ्घर्ष स्र्पोटिङ क्लबलाई पराजित गरी फाइनलमा स्थान बनाएका थिए ।

व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी सौभाग्य (संजोग) राई घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक सगमाथाका प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्डर सलहेशका कुलदिप कार्की, उत्कृष्ट मिडफिल्डर सलहेशका सन्तोष खत्री, उत्कृष्ट फरवार्ड सगरमाथाका मिलन राई र उत्कृष्ट प्रशिक्षक सगरमाथाका युवेन गुरुङ र उदियमान खेलाडी घरेलु टिम संघर्ष स्र्पोटिङ क्लबका सविन तामाङ घोषित भए ।
सर्वाधिक गोलकर्ता कञ्चनजंघा एफसी सिलिगुडीका जाङपो भोटिया घोषित भए । उनले एकै खेलमा ३ गोल गरेका थिए । व्यक्तिगत विधाका खेलाडी र प्रशिक्षकले जनही १० हजार प्राप्त गरे । खेलमा विभागीय टिम त्रिभुवन आर्मी,बुटवल लुम्बिनी एफसी,भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लब र पाँचथर फुटबल क्लब गरी ८ टिम सहभागी थिए ।
समापन समारोहमा प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराई,संविधानसभाका सदस्य डम्बर ध्वज तुम्बाहाम्फे, कोसी प्रदेश सरकारका पूर्व मन्त्री प्रदेशसभा सदस्यद्धय तिलकुमार मेन्याङ्वो र निर्मला तावा, प्रदेशसभा सदस्य खगेनसिंह हाङगाम, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा र पाँचथरका प्रमुख रामराज आङदेम्बे सहितको उपस्थिति रहेको छ ।