इलाम । गोलरक्षक जियारथ सेख पेनाल्टी सुटआउटमा नायक बनेपछि घरेलु टोली नेपालले भुटानलाई हराउँदै साफ यू२० च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा टाइब्रेकरमा ४–१ को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको हाफ भली सिधै गोल भयो । गोलरक्षक जियारत शेखले बल ठम्याउन नसक्दा गोल भएको थियो । तर भुटान १० खेलाडीमा झरे लगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो ।
७७ औं मिनेटमा भुटानका किन्जाङ तेन्जिङ दोस्रो पहेंलो कार्ड खाँदै बाहिरिए । त्यसै फलबाट सुरु भएको छोटो फ्रिकिकबाट निर्माण भएको मुभमा निराजनले गोल गरे । लछु थापाको लामो पासलाई गोलरक्षक निमाले बचाउन नसक्दा निराजनले फ्लिक हेडरमार्फत गोल गरे ।
टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको प्रहार जियारत शेखले बचाए । सेमन्त थापाले तेस्रो प्रहारमा गोल गर्दा उग्वेन जिग्मेको प्रहार जियारतले बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्याए ।
दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।