इलाम । दोश्रो ताप्लेजुङ गोल्डकपको उपाधिको लागि सगरमाथा युथ क्लब मोरङ र सलहेस युवा क्ल्ब सिराहा भिड्ने भएका छन् । फुङलिङको भानुजन माविको खेलमैदानमा जारी प्रतियोगिताको दोश्रो सेमिफाइनलमा उपाधिको दाबेदार विर्तामोड युनाइटेडलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै सिराहाले मोरङसंग उपाधि भेट पक्का गरेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । १८ औ मिनेटमा प्रवेश दनुवारको पासमा विर्तामोडको डिफेन्स लाइन तोड्दै जोन ग्लोरीले सिराहलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोल अन्तरले पछाडी परेको विर्तामोड दोश्रो हाफमा खेल बराबरी गर्न सफल रहयो । शौरभ सुब्बाको प्रहार सिराहाका डिफेन्डर सेभेमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
त्यसपछि थप गरिएको १५ मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा सिराहाका जय गुरुङ, आदित्य शाक्य, सन्तोष खत्री र प्रवेश दनुवारले गोल गरे । सृजन गौतमको प्रहार बाहिरिएको थियो । विर्तामोडको तर्फबाट हिसुव थपलिया र रोहन कार्कीको प्रहार गोलमा परिणत भएको थियो ।
निमा तामाङको प्रहार गोलरक्षक प्रदिप भण्डारीले बचाएका थिए । शौरभ सुब्बाले फ्रेम बाहिर प्रहार गरे । प्लेयर अफ दि म्याच सिराहाका गोलरक्षक प्रदिप भण्डारी घोषित भए । विर्तामोड विभागीय टोली त्रिभुवन आर्मी माथि ३–० गोल अन्तरको जितका साथ सेमिफाइनल प्रवेश गरेको थियो । सिराहाले पाँचथर फुटबल क्लब माथि १–० गोल अन्तरको जित दर्ता गरेको थियो ।
प्रतियोगिताको फाइनल भाद्र १० गते हुनेछ ।