इलाम । इलाममा उन्नत जातको धान खेती हुने क्रम बढेको छ । स्थानीय जातका धानको बिऊ रोपण हुने इलाममा अहिले उन्नत जातका धान खेती हुने गरेको हो । इलाममा यस वर्ष ९७ प्रतिशत धान खेती भएको छ । यस वर्ष १४ हजार ८ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती भएको हो । ६३ हजार २ सय ९७ हेक्टर खेती योग्य जमिन भएको इलाममा १६ हजार ७ सय ५४ हेक्टर क्षेत्रफलमा सिचाई पुगेको छ ।
प्रति हेक्टर ३ दशमलव ४४ मेक्ट्रिक टन धान उत्पादन हुने इलाममा गत वर्ष ३८ हजार ४ सय ७४ मेट्रिक टन उत्पादन भएको थियो । इलाममा पछिल्लो समय उन्नत जातको धान खेती हुने क्रम बढेको छ । स्थानीय जातका बिऊ बिस्तापन हुँदै उन्नत धानको बिऊ रोपण हुँदै आएको हो । धान खेतीका लागि प्राविधिक सहयोग स्थानीय तह र कृषि ज्ञान केन्द्रबाट हुँदै आएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत जिवन ठाडामगरले बताए ।
इलाममा खेती हुने उज्नत जातका धानमा रञ्जित, सावित्रि, राधाबाह्र, राधा चार, हर्दिनाथ, खुमल चार, मनसुली, बासमती हुन् । स्थानीय जातमा नुनिया, भगेरी, बेलगुठी धान रोपण हुन्छ । स्थानीय जातको धानको बिऊबाट उत्पादन कम हुने भएपछि किसानले उन्नत जात रोजेका हुन् ।
इलामका १० स्थानीय तहका औल क्षेत्रमा धान खेती हुन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका बढी धान खेती हुने गरेको हो । रोजगारीका अवसरहरु थपिदै जाँदा धान खेती हुने क्षेत्रहरु भने घट्दै गएको सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष धानको उत्पादकत्व भने बढेको छ । परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापनले धान उत्पादन बढ्दै गएको हो ।