Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आलु विकास केन्द्रमा आलु खनिँदै

आलु विकास केन्द्रमा आलु खनिँदै

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १ २०८१


आलु विकास केन्द्रमा आलु खनिँदै

इलाम– इलामको उत्तरपूर्वी भारतीय सीमा जौबारीमा रहेको आलु विकास केन्द्रले नयाँ सिजनका लागि आलुको बीउ खन्न थालेको छ । अहिले खनिएको आलु किसानले कात्तिक–मङ्सिरमा हिउँदे आलुको बीउका रूपमा लगाउने गरेका छन् । कोशी प्रदेशका पहाडी जिल्लामा बीउ पुर्‍याउने लक्ष्यसाथ लगाइएको आलु यो पटक भने अत्यधिक वर्षाका कारण कम उत्पादन हुने अनुमान गरिएको केन्द्रका बागवानी विकास अधिकृत बालमुकुन्द पैकराले बताए ।

‘आज पनि अत्यधिक वर्षा भएको छ । आलु खन्न सकिएको छैन । वर्षा रोकिएलगत्तै खन्न सुरु गर्छौं,’ पैकराले भने, ‘यो वर्ष धेरै वर्षाका कारण लक्ष्यअनुसार उत्पादन नहुन सक्छ । अहिलेसम्म खनेको आलुफलाई हेर्दा उत्पादन कमै छ ।’ केन्द्रले जनकदेव, डेजिरे, खुमल उपहार, रोजिता, बिटे जातका गरी दुई सय २० मन आलुको बीउ रोपेको थियो । एक सय सात रोपनीमा लगाइएको आलुबाट २५ मेट्रिक टन आलु उत्पादन हुने अनुमान रहेको पैकराको भनाइ छ ।

‘दिनहुँ ७० कामदार लगाएर आलु खन्दै छौं । अझै भदौ १५ सम्ममा मात्र खनि सकिन्छ । त्यसपछि माटो ओभाएर बीउका रूपमा स्टोर गर्छौं,’ उनले भने, ‘अनिमात्र बीउ आलुको लागि विज्ञापन खुला हुन्छ ।’ गतवर्ष यहाँको आलुको मूल्य ८५ रुपैयाँ प्रतिकिलो थियो । तर, बजारमा भने ४० रुपैयाँमा पाइएको थियो । पोहोर महँगो भएको गुनासो आएका कारण यो वर्ष ५० देखि ६० रुपैयाँ मूल्य सरकारले तोक्ने सम्भावनासमेत रहेको पैकराले बताए ।

‘गतवर्ष बजारको भन्दा यहाँको आलु महँगो भयो भन्ने गुनासो आयो, यसपटक आलु खनिसकेपछि कति मूल्य तोक्न सकिन्छ भन्ने छलफल गरेर माथि पठाउँछौं अनि सरकारले मूल्य तोक्छ,’ पैकराले भने । समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा रहेको जौबारीमा उत्पादन भएको आलु ताप्लेजुङ्ग, पाँचथर, इलाम, भोजपुर, संखुवासभा, तेह«थुम, धनकुटालगायत जिल्लामा बीउका लागि लैजाने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार