फिक्कल । इलामको सूर्योदय नगरपालिकाले गत आर्थिक बर्षमा ६ हजार भन्दा बढिको आँखा जाँच गरिएको छ । पालिकामा स्वास्थ्य शाखा मार्फत कार्यालयले विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार ३ सय विद्यार्थी र १ हजार ८ सय समुदाय स्तरमा आँखा जाँच सम्पन्न गरिएको हो । शाखाले पालिकाको विभिन्न वडामा शल्यक्रिया शिविर समेत संचालन गरेको थियो ।
त्यसैगरी गत आर्थिक बर्षमा स्वास्थ्य सम्बन्धि विभिन्न शिविर मार्फत नगर क्षेत्रका ५५ हजार भन्दा बढि नगरवासीले आँखा जाँच, नसर्ने रोग सम्बन्धि स्क्रिनिङ, एक्स–रे लगायतका सेवा पाएका छन् । कार्यालयले गत आर्थिक बर्षमा १४ वटै वडाका ग्रामिण भिडियो एक्स–रे सेवा मार्फत सम्पूर्ण टोलहरुमा गरी कुल ८९७ पटक महिलाहरुमा स्क्यानिङ सेवा प्रदान गरेको छ ।
सुत्केरी घरभेट कार्यक्रम अन्तर्गत कुल ४३२ जना सुत्केरी महिला तथा नवजात शिशुहरुलाई घरमै गएर गरिने सुत्केरी जाँच सेवा प्रदान गरिएको शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये १०–१९ वर्षका २ हजार ५ सय २१ जना किशोरीहरुलाई रक्तअल्पता न्यूनिकरणका लागि आईरन तथा फोलिक चक्की वितरण गरिएको साथै ५ वर्ष माथि र १२ कक्षा सम्मका कुल ८ हजार १ सय २६ जना विद्यार्थीहरुलाई जुकाको औषधी खुवाएको छ ।
क्षयरोगको खोजिका लागि वडा नं. १,३,५, ११ र १३ मा माईक्रोस्कोपी क्याम्प सञ्चालन गरिएको अधिकारीले जानकारी दिए । स्वास्थ्य संस्थाहरु १५ महिना मुनिका कुल ५ सय ७३ जना बालबालिकाहरुलाई पूर्ण खोप प्रदान गर्नुका साथै ५ हजार १ सय ७ जना सेवाग्राहीहरुलाई गाउँघर क्लिनिक मार्फत सेवा प्रदान गरिएको छ । नगरले विभिन्न रोगहरुलाई निर्मुल गर्ने अभियान अन्र्तगत पोषणमैत्री स्थानीय तह कार्यान्वयनका लागि वडा नं. ९ र ७ मा पोषण सम्बन्धी सघन कार्यक्रम सञ्चालन गरिएको छ ।
त्यसैगरी शतप्रतिशत कभरेजका प्राप्त गर्दै दादुरा रुवेला खोप अभियान सम्पन्न भएको छ । पालिका तहमा खोप शतप्रतिशत रुपमा प्राप्त भएपछि पूर्णखोप दिगोपना सुनिश्चिता नगरपालिका समेत घोषणा गरिएको छ । स्वास्थ्य शाखा मार्फत नसर्ने रोगका बिरामीहरुलाई मासिक रुपमा भत्ताको व्यवस्था गरिएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरूलाई औषधी उपचार खर्च वापत कुल १ सय २६ जना बिरामीहरुलाई मासिक ५ हजारका दरले रकम उपलब्ध गराएको जनस्वास्थ्य निरिक्षक रविन खत्रीले जानकारी दिए ।
नव शिशु स्वास्थ्य सुरक्षा र आमा सुरक्षा कार्यक्रम,गर्भवतीउत्प्रेरणा,न्यानो झोला,निशुल्क गर्भपतन सेवा कार्यक्रम नियमित रुपमा ब्यवस्था मिलाईएको उनले बताए । पालिकाबाट मोवाईल मेडिक कार्यक्रम अन्तर्गत ४०७ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य जाँच सम्बन्धी मोवाइल सन्देश पठाइएको छ । स्वास्थ्य क्षेत्रको सुधारका लागि र तथ्यांकका लागि सूर्योदय नगरपालिकाको स्वास्थ्य तथा पोषण प्रोफाइल तयार गरिएको छ ।