इलाम । अर्को साता काठमाडौंमा सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि इलामका आयुष तिम्सिनाले स्थान बनाएका छन् । आज घोषणा भएको २३ सदस्यीय टोलीमा सूर्योदय नगरपालिका–९ का तिम्सिनाले स्थान बनाएका हुन् । गत बर्ष काठमाण्डौमा भएको यु–१९ साफ च्याम्पियनसिपमा उनले पाकिस्तान विरुद्ध नेपाली टिममा डेब्यु गरेका थिए ।उनी गत बर्ष सम्पन्न नेपाल सुपर लिगमा स्पोर्टिङ इलाम डी मेची एफसीमा आवद्ध भएका थिए ।
समुह चरणमा माल्दिभ्स र सेमिफाइनलमा भारत विरुद्ध पहिलो रोजाईमा खेलेका थिए । भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिवार २३ सदस्यीय युवा टोलीको घोषणा गरेको छ । प्रतियोगितामा ७ राष्ट्रको सहभागिता रहेको छ । ७ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली युवा टोली
जियारथ शेख( गोलरक्षक ), कृषल मोक्तान (गोलरक्षक) ,विशाल केसी (गोलरक्षक) ,सिमान्त थापा,अश्विन घोसाई, बिक्रम तामाङ,आयुष तिम्सिना, मदन पौडेल,राम थापा,समिन घिमिरे,सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लछु थापा,निरज कार्की,हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी
