इलाम– गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामेल भएका इलामका दुई सय ६६ विद्यार्थी पूरक परीक्षामा सहभागी भएनन् । पूरक परीक्षाको मौका पाउँदासमेत उनीहरू सहभागी नभएका हुन् । अहिले यी विद्यार्थी के गर्दैछन् भन्ने सम्बन्धित विद्यालय र शिक्षा विकास तथा समन्वय इकाइलाई पनि जानकारी छैन ।
चैतको परीक्षामा दुई हजार चार सय १७ विद्यार्थी अनुत्तीर्ण भएका थिए । सातवटै विषयको पूरक परीक्षा दिन पाउने भएपनि पूरकका लागि भने दुई हजार एक सय ५१ परिक्षार्थीले मात्र फाराम भरेका थिए । बाँकी विद्यार्थीले किन पूरक परीक्षा दिन चाहेनन् भन्नेबारे विद्यालय र शिक्षा इकाइलाई जानकारी छैन । यसपटकको एसइईमा सरकारले हरेक विषयमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बाध्यकारी नियम बनाएको थियो ।
पूरकमा पनि ३५ प्रतिशत अंक ल्याउनैपर्छ । २०७१ सालपछि अघिल्लो एसइईसम्म मावि तहसम्म अनुत्तीर्ण नहुने शिक्षा नीति थियो । यो पटक पुनः अनुत्तीर्ण हुने प्रावधान आएपछि विद्यार्थी ठूलो संख्यामा अनुत्तीर्ण भएको अनुमान गर्न सकिने इकाइ प्रमुख डम्बर सुवेदी बताउँछन् ।
‘लामो समयदेखि अनुत्तीर्ण भइँदैन भन्ने धारणा थियो । विद्यार्थीले पढाइलाई त्यति महत्व दिन छाडे, अहिले एकै पटक सरकारले उत्तीर्ण हुनु अनिवार्यजस्तो गरिदिएपछि ती विद्यार्थी निरास भएका हुन सक्छन्,’ सुवेदीले भने, ‘अब पनि ३५ प्रतिशत अंक ल्याउनै सक्दिनँ भनेर परीक्षा दिन्नँ भन्ने धारणाले पूरकमा विद्यार्थी नआएका हुन सक्छन् ।’ गत चैतको एसइईमा इलामका २९ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए ।