Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विदेशबाट फर्केर अकबरे खेतीमा रमाउँदै माङसेबुङका खड्गबहादुर

विदेशबाट फर्केर अकबरे खेतीमा रमाउँदै माङसेबुङका खड्गबहादुर

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २४ २०८१


विदेशबाट फर्केर अकबरे खेतीमा रमाउँदै माङसेबुङका खड्गबहादुर

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ का युवा खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने तथा साहुको भर पर्नुपर्ने बाध्यता छैन । घरकै छेउको बारीमा सुरु गरेको व्यावसायिक अकबरे खेतीबाट गरेको आम्दानीले घरखर्च मज्जाले धानेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुई वर्ष अघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक अकबरे खेती सुरु गरेका कार्कीले वार्षिकरुपमा तीन लाख आम्दानी गर्दै आएका छन् ।

विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका कार्कीलाई आफ्नै घरनजिकै सुरु गरेको व्यावसायिक अकबरे खेतीले विगतको दुःखका दिन समेत बिर्साएको छ । कार्कीको फार्ममा हेरिरहुँ लाग्ने अकबरेको बगान छ । ‘गतवर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलो सिजनमा नै राम्रो आम्दानी प्राप्त भयो,’ कार्कीले भने, ‘प्रतिकेजी दुई सय ५० देखि रु तीन सयसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु ।’

कार्कीले यस वर्ष पाँच हजार बोट अकबरे रोपेका छन् । आफ्नै चार रोपनी जग्गा र छिमेकीको चार रोपनी जग्गा लिजमा लिएर आठ रोपनी क्षेत्रमा अकबरे खेतीको विस्तार गरेका हुन् । उत्पादिन अबकरे बिक्रीका लागि बजारको समेत चिन्ता नभएपछि खेती विस्तार गरेको उनी बताउँछन् । ‘अकबरेको बजार राम्रो छ, नबिक्ला कि भन्ने चिन्ता, बारीबाटै बिक्ने गर्दछ’ कार्कीले भने, ‘सबै खर्च कटाएर वार्षिक रु १० देखि १५ लाखसम्म कमाई गर्ने लक्षका साथ खेती विस्तार गरेको छु ।’

एक पटक रोपेको बोटले दुई वर्षसम्म नियमित उत्पादन दिने खड्काको भनाई छ । अकबरेको एक बोटले जेठदेखि माघसम्म उत्पादन दिने गर्दछ । हरियो अकबरे दैनिक रुपमा टिप्न पाइन्छ भने रातो (पाकेको) सातामा दुई पटक टिप्न पाइन्छ । एक हजार बोटबाट सातामा पहिलो टिपाईमा ३० केजी र दोस्रो टिपाईमा २० केजी अकबरे उत्पादन हुने गरेको कार्कीको अनुभव छ ।

‘दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर रातो (पाकेको) भने सातामा दुई पटक टिप्न सकिन्छ, एक हजार बोटबाट पहिलो टिपाईमा ३० र दोस्रो टिपाईमा २० केजी अकबरे उत्पादन हुन्छ’ कार्की भन्छन्, ‘यही अनुपातमा पाँच हजार बोटबाट पहिलो टिपाईमा एक सय ५० र दोस्रो टिपाईमा एक सय केजी अकबरे उत्पादन हुनेछ ।’

विस्तार भएको नयाँ बोटबाट उत्पादन सुरु हुने क्रममा छ । पुरानो बोटबाट यो सिजनको जेठदेखि नै उत्पादन सुरु भइसकेको छ । लगाएको छोटो अवधिमै आम्दानी लिन सकिने र बजारको समेत अभाव नएकाले अकबरे खेतीबाट मनग्य फाइदा लिन सकिने उनको अनुभव छ । हरियो खुर्सानी प्रतिकेजी दुई सय ५० मा बारीबाटै बिक्री हुन थालेको छ । त्यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् ।

२०६६ सालमा वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका कार्की २०७४ सालमा स्वदेश फर्किएका थिए । उनले विदेशमा बस्दा सिकेको, अनुभव गरेको र देखेको आधारमा स्वदेश फर्केर कृषि व्यावसायमा लागेको बताए । ‘मैले काम गर्ने कम्पनीको छेउमा कृषि फार्म थियो, विदाको दिन फार्ममा गएर हेर्ने गर्दथे’ उनले भने, ‘त्यही देखेपछि नेपाल गएर यही गर्छु भन्ने अठोट लिइर फर्किएकाले कृषि कर्ममा लागेको हुँ ।’

सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरे खेती सुरु गर्नुभएका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाए । उनको फर्ममा अबकरेका साथ टमाटर, भण्टा, बन्दा, कोपी, प्याज खेती तथा एभोकार्डो र कफिको विरुवा समेत उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार