Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको रोङ गाउँपालिकामा मह उत्पादन वृद्धि 

इलामको रोङ गाउँपालिकामा मह उत्पादन वृद्धि 

  • सुजन तिमल्सिना
  • बिहिबार, साउन २४ २०८१


इलामको रोङ गाउँपालिकामा मह उत्पादन वृद्धि 
इलाम । इलामको रोङ गाउँपालिकामा मौरीको मह उत्पादनमा वृद्धि आएको छ । परम्परागत रुपमा हुँदै आएको मौरी पालनलाई व्यवसायीक बनाउन गाउँपालिकाले किसानलाई आधुनिक प्रविधि र घार हस्तान्तरण गरेसँगै मह उत्पादन वृद्धि भएको हो ।
इलामको रोङ गाउँपालिकामा सेरेना जातको मौरीपालन हुन्छ । रुखको मुडाको घारमा मौरी पालन हुँदै आएको रोङ गाउँपालिकामा अहिले आधुनिक घार बिस्तार हुँदैछ । वडा नम्बर ६ को जिर्मलेमा २०४७ सालबाट आधुनिक घारमा मौरी पालन शुरु भएको थियो ।
देशमा संघीय संरचनापछि रोङ गाउँपालिकाले व्यवसायीक मौरी पालनका लागि आधुनिक घार, तालिम र प्रविधि किसानलाई हस्तान्तरण गर्दै आएको कृषि शाखा प्रमुख तिर्थराज देवकोटाले बताए ।
रोङ गाउँपालिकाले मौरी प्रवद्र्धन कार्यक्रमबाट तालिम, प्रविधि र आधुनीक घार अनुदानमा किसानलाई प्रदान गर्छ । सेरेना जातको महलाई औषधिय गुणको भण्डार मानिन्छ । बहुपुष्प रस संकलनबाट सेरना जातको माहुरीले मह संकलन गर्छ । माहुरी पालनका लागि रोङ गाउँपालिकाले पछिल्ला २ वर्षमा १२ सय आधुनिक घार किसानलाई प्रदान गरेको छ । स्थानीय तहको प्रथम कार्यकालमा ८ सय आधुनिक घार किसानलाई प्रदान भएका छन् ।  जसबाट अहिले मह उत्पादन ४० प्रतिसतले बढी आएको हो ।
व्यवसायीक मौरी पालनसँगै कृषि उपज अर्गानिक उत्पादन गर्ने योजनाका साथ गाउँपालिकाले मौरी प्रर्वद्धन कार्यक्रम लागु गरेको छ । खेतबारीमा बिषादी प्रयोग नर्गदा मौरी पालन पनि हुने भएकाले  किसानलाई दोहोरो फाइदा हुने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुबासले बताए ।
अर्गानिक मह उत्पादन र उच्च मुल्य पाउने भएपछि किसानहरुको संख्या मौरीपालनमा बढेको छ । सेरेना जातको मौरीबाट उत्पादित मह प्रतिकेजी १ हजारदेखि ५ सय रुपैयाँमा बिक्रि हुन्छ । यहाँ उत्पादित मह नेपाल र भारत सहरमा निर्यात हुन्छ ।
२ हजार आधुनिक र ४ हजार मुडाको घारमा मौरी पालन हुने रोङ गाउँपालिकामा १० हजार किलो मह उत्पादन भएको तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार