ताप्लेजुङ : ताप्लेजुङमै पहिलो पटक समद्र सतहदेखि करिब ३ हजार ७ सय मिटरको उचाईमा महोत्सब आयोजना गरिने भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न लागि आगामी श्रावण २५ देखि २८ गतेसम्म ४ दिन तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सवमा भलिबल प्रतियोगिता, हाल्फ म्याराथन प्रतियोगिता, लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने बताइएको छ । खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार गर्न आयोजना गरिएको महोत्सव सम्पन्न गर्न कुल ३० लाख रुपैयाँ लागत लाग्ने आयोजकको अनुमान रहेको छ । सो क्षेत्रमा सोदुपोखरी, भुतपोखरी, मिक्वापोखरी लगायतका संयौ ताल र फुङगफुङगे तथा हिलिमा जस्ता झरनाहरु रहेका छन् ।
पापुङको हिमाली क्षेत्रमा प्रशस्तै तालहरु रहेका छन् । तिनै ओझेलमा परेका तालहरुलाई नागरिक सामु पु¥याई प्रशस्तै मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको आयोजकको भनाई छ । महोत्सवमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियागिता समेत सञ्चालन हुदैछ । प्रतियोगिताको बिजेतालाई नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेतालाई नगद ७१ हजार १ सय ११ रुपैँया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आर्थिक संयोजक प्रताप साँवा लिम्बूले बताए।
खेलका अन्य विविध विधाका उत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको छ । सहभागी खेलाडीहरुको लागि खाने तथा बस्नका लागि आयोजकले नै प्रबन्ध गरेको बताइएको छ । खुल्ला हाल्फ म्याराथन प्रतियोगिताको प्रथमले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार रुपैँया प्राप्त गर्ने बताइएको छ । तोक्पेगोला बस्तिदेखि सुरु गरिने म्याराथन सोदुपोखरीसम्म पुगेर पुन बस्तीमै फर्किने गरिको रुट तय गरिएको छ ।
महोत्सवकै अवसरमा सञ्चालन हुने पारास्यो खेल तर्फको प्रथमलाई १५ हजार र द्धितियलाई १० हजार रुपैयाँको व्यवस्था गरिएको छ । गाडीको माध्यमबाट आधा बाटोसम्म पुग्न सकिने उक्त क्षेत्रका विभिन्न ठाउँहरुमा होटल तथा लजको व्यवस्थापन गरिने आयोजकको तयारी छ । गाडीबाट ओर्लिएर करिब एक दिनको पैदल यात्रामार्फत कार्यक्रम स्थलमा पुग्न सकिने छ ।