फिक्कल । किरात राई यायोक्खाको ३७ औं स्थापना दिवसको अवसरमा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित भएका छन् । जिल्लाभरि वाट उत्कृष्ट अंक ल्याउने १ जना छात्र र १ छात्रालाई स्व. दुर्गामान र स्व. वैनि सन्तमाया राई स्मृति छात्रावृत्ति सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा डम्बरदेवी मावि देउमाई नगरपालिकाका आयुष राई र आर्दश माविकी सेन्चेन राई रहेकी छन् ।
उनीहरुलाई किरात राई यायोक्खाका केन्द्रीय महासचिव कृष्ण कुमार राई, जिल्ला अध्यक्ष पुष्पा राई लगायतले नगद र प्रशंसापत्र सहित सम्मान गरे । त्यसैगरी किरात राई सुम्निमा संघ इलामको आयोजनामा संचालित ३ दिवसीय पेचुरि, धजुरि ( किराँती सभ्यता र ज्ञानको प्रतीक) सीप सिकाई तालिम समापन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
ओपिधारामा भएको कार्यक्रममा जिल्लाभरिका किरात राई समुदायको बाक्लो उपस्थिती रहेको किरात राई यायोक्खा सन्दकपुर गाउँपालिकाका संस्थापक अध्यक्ष श्याम राईले जानकारी दिए ।