इलाम । इन्टर मियामीका स्टार लियोनल मेस्सी खुट्टाको चोटका कारण एमएलएस अल–स्टार गेममा सहभागि नहुने भएका छन् । ३७ वर्षीय मेस्सीले कोलम्बियाविरुद्धको जुलाई १४ कोपा अमेरिकाको फाइनलमा दाहिने घुँडामा चोट बोकेका थिए । चोटका कारण खेलको ६६ औ मिनेटमा नै मैदानबाट बाहिरिएका थिए । मेस्सीसंगै उरुग्वेली स्टार लुइस सुआरेज पनि बुधवार कोलम्बस, ओहायोमा हुने खेलमा उपलब्ध हुने छैनन् ।
सुआरेजमा समेत घुँडाको समस्या देखा परेको छ । दुवैलाई सोमबार उपलब्ध नहुने खेलाडीको सूचीमा राखेको छ । ८ पटकको बालोन डि ओर बिजेता अर्जेन्टिनी खेलाडीले टोरन्टो एफसी र शिकागो फायर विरुद्धको जित निकालेको खेल समेत गुमाएका छन् । मियामीले टोलीले क्लब पुएब्ला विरुद्ध घरेलु मैदानमा शनिबार लिग कपको उद्घाटन खेलका लागि दुवै खेलाडीको स्थिति उनीहरूको दैनिक स्वास्थ्य अवस्थाको प्रक्रियाको आधारमा मूल्याङ्कन गरिने जनाएको छ ।
मियामीका सहकर्मी सर्जियो बुस्केट्स र जोर्डी अल्बाले बुधबार राति खेल्नेछन् । रियल साल्ट लेक फरवार्ड क्रिस्टियन एरान्गोले पनि लिगको उत्पीडन विरोधी नीति उल्लंघन गरेको कारण मेजर लिग सकरबाट चार खेलको निलम्बनमा परेपछि अल–स्टार गेम गुमाउने छन् । एरान्गोले १७ गोल र ११ असिस्टसहित एमएलएसको अग्रता लिएका छन् ।
मेस्सीले इन्टर मियामीका लागि २०२४ को आफ्नो पहिलो १२ खेलमा १२ गोल र १३ असिस्ट गरेका छन् । क्लब २५ खेलबाट ५३ अंकको साथ शिर्ष स्थानमा छ ।