माङसेबुङ : झापाको दमकदेखि इलामको माङसेबुङस्थित चिसापानीसम्मको ३३ किलोमिटर सडक निर्माणको काममा लापरबाही हुँदा प्रत्येक बर्खामा स्थानीयले सास्ती भोग्नुपरेको छ । ठेक्का लागेर पनि समयमा काम नहुँदा दमक–चिसापानी सडकको दुईवटा खण्डको ठेक्का तोडिएको छ । बर्खामा आवतजावत गर्नसमेत मुस्किल भएपछि माङसेबुङ गाउँपालिकाले बर्खामा गाडी गुड्न सक्ने गरी मर्मत गरिरहेको छ ।
बर्खाले सडकमा क्षति पुर्याएपछि असार पहिला सातायता मात्र गाउँपालिका र उपभोक्ताले सडक मर्मतका लागि करिब २२ लाख रुपैयाँ खर्च गरिसकेको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङले बताए । ‘असार लागेपछि मात्र गाउँपालिकाले १५ लाख लगाएर अवरुद्ध सडक खुलाउने र नागरिकलाई यात्रा गर्न सहज बनाउने काम गरेको छ,’ उनले भने, ‘उपभोक्ताहरूको पनि सात लाख खर्च भइसकेको छ । पानी अझै परिरहेको छ । ठेकेदारले समयमा काम नगर्दा यसको हैरानी हामीले व्यहोर्नुपरेको छ ।’
गाउँपालिकाले असार दोस्रो सातायता कच्ची सडकको नाली काट्ने, अप्ठ्यारो ठाउँमा ग्राभेल हाल्ने, पहिरो सोरेर अवरुद्ध सडक खुलाउनेलगायत काम गरिरहेको छ । ‘निर्माण व्यवसायीको लापरबाहीले सडक निर्माण हुन सकेन । यसको असर आमनागरिकले भोग्नुपरेको छ,’ नेम्वाङले भने, ‘ठेक्का तोडेपछि निर्माण व्यवसायी अदालत पुगेका छन् रे १ अदालतबाट चाँडो फैसला आए सजिलो हुन्थ्यो । निकास आउने थियो ।’
अविरल वर्षाका कारण दमक–चिसापानीको कच्ची सडक हिलाम्मे हुँदा यात्रामा असहज भएको छ । ‘बर्खा लागेपछि त जोखिमपूर्ण यात्रा गर्नुपर्छ । कहाँ पुगेर के हुन्छ पत्तो हुँदैन,’ माङसेबुङ– २ का धनबहादुर मुकारुङ भन्छन्, ‘सामान्य अवस्थामा तीन घण्टामा दमक पुगिन्थ्यो । अहिले त दिनभर लाग्छ । त्यो पनि पुगिन्छ पुगिँदैन टुंगो हुँदैन ।’
दमक–चिसापानी सडकको ३३ किलोमिटर ट्रयाक चौडा गर्ने र कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा ठेक्का लगाएको थियो । तर, निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक विभागले दुईवटा खण्डको ठेक्का तोडिसकेको छ । दमक–चिसापानी सडकको दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको छ ।
दोस्रो र तेस्रो खण्ड कालोपत्रे गर्ने काम २ फागुन ०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको हो । यो दुई खण्डको म्याद २ फागुन ०७९ मै सकिएको थियो । त्यसपछि थपिएको दश महिनाको समय गत पुस सकियो । तर, त्यस अवधिमा दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रोमा ३० प्रतिशत मात्र काम सकिएपछि ठेक्का तोडिएको हो ।
पहिलो खण्डको सात किलोमिटरको ठेक्काको मिति पटकपटक थपियो । थपिएको म्याद सकिँदा पनि काम सकिएको छैन । अहिले यहाँ निर्माण व्यवसायीले जरिवाना तिरेर काम गरिरहेको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर गौतम देवले जानकारी दिए । सडकखण्डअन्तर्गत दमकको प्वाइन्टदेखि सात किलोमिटर निर्माणका ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लागेको थियो ।
कालोपत्रेसहितको ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले लिएको थियो । तर, चौथोपटक थपिएको म्याद गत पुसमै सकियो । म्याद सकिए पनि काम भने भइरहेको छ । ‘बर्खा लाग्नुअगाडि कालोपत्रेका लागि तयारी गरिएको थियो । प्राइमर पनि हालिएको थियो,’ उनले भने, ‘तर, पानीले क्षति पुर्यायो । पहाडको पानीले सडक धेरै खोल्ने रहेछ ।’