माई : इलामको माई नगरपालिकामा अग्रज साहित्यकार शिव अधिकारी “इलामे जेठा”को अध्यक्षतामा १३ सदस्यीय ’माई नगर भाषा साहित्य तथा कला प्रतिष्ठान’ गठन भएको छ। माईनगर भित्रका साहित्य, संगीत, कला प्रेमीहरूको भेलाले उपाध्यक्षमा हरिप्रसाद पौड्याल, सचिवमा टुकेन्द्र राई “भुइ मान्छे” सहसचिवमा अर्जुन दुलाल र कोषाध्यक्षमा अन्जना सेन्चुरीलाई चयन गरेको छ । प्रतिष्ठानको सदस्यहरूमा शान्ता फियाक, होम मिश्र, देउकुमार लिम्बु, ठहरसिं बस्नेत, हरि असिम अधिकारी, अनिल तामाङ र सन्तु मोक्तान चयन भएका छन् ।
माई नगरपालिकामा पहिलो पटक गठित प्रतिष्ठानको सल्लाहाकारमा मित्र प्रसाद गौतम, हरिचरण घिमिरे, खेमराज लिम्बु, कुमार राई, खड्गप्रसाद दुलाल र विमल दहाल रहेका छन् । प्रतिष्ठान गठन कार्यक्रमका प्रमुख अतिथि इलाम चुलाचुली निवासी प्रसिद्ध गजलकार ‘विवस’ बलिभद्र कोइरालाले सबैको साझा थलोका रुपमा र जीवन पर्यन्त जीवित रहने साहित्य कलालाई अगाडि बढाउन सहभागीहरुलाई आग्रह गरे ।
आफ्नो गजल र कविता समेत प्रस्तुत गर्दै प्रमुख अतिथि कोइरालाले माई नगरकै शिर उच्च राख्ने यस प्रतिष्ठानलाई माई नगरपालिकाले आफ्नो सम्पत्तिका रुपमा ग्रहण गर्दै अगाडि बढ्नेमा विश्वास व्यक्त गरे । भेलाले माई नगरपालिका साहित्य संगीत कला क्षेत्रमा विकास र विस्तार तथा विभिन्न प्रतिभाहरू लाई समावेश गर्ने, नगरभरिका साहित्यिक कलाप्रेमीहरूको पहिचान गर्ने, माई नगरपालिकासँग संस्थागत सहकार्य र समन्वयमा कार्यक्रम सञ्चालन गर्न प्रस्तावना पेश गर्ने लगायतका निर्णय गरेको छ।
१९ जना साहित्यकार तथा कला प्रेमीहरूको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता अग्रज साहित्यकार शिव अधिकारी ‘इलामी जेठा’ सञ्चालन टुकेन्द्र राई ‘भुई मान्छे’ र स्वागत कन्काई माविका प्रधानध्यापक हरिप्रसाद पौडेलले गरेका थिए ।