Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोसी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

कोसी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

  • सन्देश सम्वाददाता
  • सोमबार, असार ३२ २०८१


कोसी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

विराटनगर । कोसी प्रदेश पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका कारण अब, कोसी प्रदेशमा कोही पनि बालबालिकाले नियमित खोपबाट वञ्चित हुनु नपर्ने अवस्था सृजना गर्न मातहत निकायलाई निर्देशन दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले आजको युगमा पनि बालबालिकालाई खोप लगायौँ भनेर रमाउनुपर्ने अवस्था उचित नभएको बताए । जन्म दर्ता जत्तिकै नियमित खोप पनि बालबालिकाको अधिकार भित्र पर्ने भएकाले खोप लगाउने विषयलाई हेलचक्राई गर्न नहुने डा पोखरेलको भनाई छ । उनले भने‘अझै पनि बालबालिकालाई खोप लगायौँ भनेर उत्सव मनाउनुपर्ने अवस्था उचित हैन ।’

पोखरेलले कोसी प्रदेश छैटौँ पूर्ण खोप सुनिश्चित प्रदेश भएको बताए । यस अघि ७ मध्ये ५ वटा प्रदेशले पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेका छन् । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले कोसी प्रदेशमा ११ महिना सम्मका ८३ हजार ७ सय ५५ हाराहारी बालबालिका रहेको बताए । जस मध्ये विसीजी खोप लगाउनेको संख्या ८१ हजार २ सय ९० दादुरा रुवेलाको पहिलो मात्रा लगाएकाको संख्या ७७ हजार १ सय ३०, अन्तिम दादुरा रुवेलाको खोप लगाएकाको संख्या ७३ हजार ३ सय ४५ रहेको छ ।

कोसी प्रदेशमा ५ वर्ष मुनिका बालबालिकाको संख्या २ लाख ८३ हजार १ सय ८३ रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा छ ।
नेपालमा नियमित खोप अन्तर्गत बालबालिकालाई १३ प्रकारका खोप लगाउने गरिएको छ ।

बस्नेतले सबै पालिकाको वडा देखि नै पूर्ण खोप सूचिश्चित घोषणा गर्दै असार ३० गते प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जानकारी दिए । पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भए पनि खोप लगाउनबाट छुटेका बालबालिका खोजेर खोप लगाउने काम भने निरन्तर जारी रहने बस्नेतले स्पष्ट पारे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार