Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगर पूर्णखोप सुनिश्चित घोषित

माई नगर पूर्णखोप सुनिश्चित घोषित

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार २२ २०८१


माई नगर पूर्णखोप सुनिश्चित घोषित

 

माई । इलामको माई नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चित’ पालिका घोषणा गरिएको छ । मेयर खम्बासिंह लिम्बूले बिहीबार नगरपालिकालाई निश्चित सूचकका आधारमा पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेका हुन् ।

सबै वडालाई पूर्णखोप सुनिश्चितताका आधारमा तथा वडा–वडाको खोप तथ्यांक र सूचकका आधारमा पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।

पूर्णखोप मापदण्ड र सूचकका आधारमा सबै सर्त पूरा गरी नगरपालिकाले पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको हो ।
स्वास्थ्य शाखाले पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरदैलो सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइए प्रक्रियाअनुसार खोप दिने व्यवस्था गरेको छ ।

मेयर लिम्बूले व्यक्ति धनी भएर नभइ स्वस्थ भएर देश धनी भयो भने आफूहरूको सफल हुने बताए । उनले दक्ष जनशक्ति देशभित्रै सेवा गर्न लाग्नुपर्ने बताउँदै पूर्णखोप लगाउन छुटेमा लगाएर पूर्णखोप साकार बनाउनुपर्ने जनाए ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले पूर्णखोप सुनिश्चितताजस्तै अन्य स्वास्थ्य क्षेत्रमा अगाडि बढ्न र सफलता हासिल गर्न सकिन्छ भनेर लाग्न सबै स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले अस्पताललगायत स्वास्थ्य संस्थालाई स्वायत्त बनाउने सोचमा नगरपालिका रहेको बताए ।

यसैबीच, इलामस्थित नेपाल क्षयरोग निवारणको प्राविधिक सहयोगमा क्षयरोग निवारण कार्यक्रम प्रारम्भिक नतिजा प्रकाशन तथा समापन पनि सम्पन्न भयो ।

संस्था अध्यक्ष दिवाकर भण्डारीको सहभागितामा सम्पन्न कार्यक्रममा माईमा ३१ जनामा क्षयरोग रहेको, तीमध्ये तीन जनामा जटिल क्षयरोग रहेको जनाइयो । दुई जना विराटनगरमा र एकजना माई अस्पतालमा नियमित निगरानीमा उपचारमा रहेको पनि जानकारी गराइयो ।

कार्यक्रममा दशवटै वडाका स्वास्थ्य व्यवस्थापन समिति, स्वास्थ्य इन्चार्ज, अनमी, अहेवलाई सम्मान गरिएको थियो । क्षयरोग निवारण संस्था र अध्यक्ष दिवाकर भण्डारीलाई पनि क्षयरोग निवारणमा सहयोग गरेवापत् प्रंशसा–पत्रसहित सम्मान गरियो ।
माई–९ का सेवानिवृत्त टेकनारायण श्रेष्ठ र सेवा छोडेकी कट्टेलटार आधारभूत स्वास्थ केन्द्रकी रेवता कट्टेललाई समेत ‘फेरि भेटौंला’ कार्यक्रम गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले सञ्चालन गरेको कार्यक्रममा मेयर लिम्बू, प्रमुख प्रशासकीय अधिकृत विश्वकर्मासहित संस्था अध्यक्ष दिवाकर भण्डारी, माई नगर ३ का वडाध्यक्ष देवकुमार तामाङ, स्वास्थ्य स्वयंसेविका चन्द्रकला श्रेष्ठ, स्वास्थ्यकर्मी गायत्री निरौला, मुना मगरलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार