पशुपतिनगर । गाउँगाउँमा गएर रोगको खोजी गरि नागरिकको उपचार गराउदै आएको इलामको रोङमा नसर्ने रोग नियन्त्रण सम्बन्धी अभियान शुरु गरिएको छ ।इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, बिश्व स्वास्थ्य संगठन र स्वास्थ्य कार्यालय इलामको प्राविधिक सहयोगमा पहिलो चरणमा रोङ गाउँपालिका भित्रका नौ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई नसर्ने रोगको रोकथाम तथा नियन्त्रण र उच्च रक्तचाप ब्यवस्थापन सम्बन्धी तालिम दिइएको हो ।
पहिलो चरणमा पालिका भित्रका स्वास्थ्यकर्मीलाई नसर्ने रोगको पहिचान गरी उपचारका चरणका बारेमा तालिम दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले जानकारी दिए । बिशेष गरी उक्त रक्तचापका कारण लाग्ने ४ प्रकारका रोगमा मुटु तथा रक्तनलीको रोग, मधुमेह, क्यान्सर र श्वासप्रस्वास सम्बन्धी रहेका छन् ।यी रोगका लक्षण भएका रोगीको टोलस्तरमै पहिचान गरी उपचारको पहुँचमा ल्याउनका लागि अभियान शुरु गरिएको शाखा प्रमुख काफलेले जानकारी दिए ।
उनका अनुसार तालिम प्राप्त स्वाथ्यकर्मीले गाउँगाउँमा गएर नसर्ने रोग भएका बिरामीको पहिचान गरी उपचार शुरु गरिने छ । देशका ७५३ पालिका मध्ये पहिलो पटक रोङ गाउँपालिकामा शुरु भएको अभियानका क्रममा इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा साकार खनालले लुकेर रहेका रोगीको रोग पत्ता लगाउन गाउँगाउँ गएर स्क्रिनिङ गर्नु पर्ने बताए । उनले उच्च रक्तचापका बिरामीले रोग लुकाउने र औषधी खान नमान्ने गरेको बताए ।
उनले भने ‘ उच्च रक्तचाप नियन्त्रण गर्न हाम्रो खानपान र दैनिक ब्यहारमा परिवर्तन ल्याउन सक्नु पर्दछ ।’ बिश्व स्वास्थ्य संगठन नेपालका निर्देशक डा रायस पोख्रेलले अभियानले पालिका भित्रका नसर्ने रोगको समस्या भएका बिरामीको अवस्था थाहा हुने बताए । ‘पहिलो चरणमा रोग लाग्नै नदिन समुदायमा समेतना जगाउन जरुरी छ’ निर्देशक डा पोख्रेलले भने । उनले स्वास्थ्य संस्थाको पहुँच भित्र कति बिरामी नसर्ने रोगका छन भन्ने थाहा पाए पछि चरणबद्ध रुपमा उपचार शुरु गरिने जानकारी दिए ।
उनका अनुसार अभियान शुरु भएको पालिकामा बर्ष भरिका लागि आवश्यक पर्ने औषधी समयमै स्वास्थ्य संस्थाहरुमा उपलब्धता गराईने छ । स्वास्थ्य कार्यालय इलामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत आदित्य शाक्यले अहिले देखि अभियान थाल्दा समयमै नसर्ने रोग नियन्त्रण गर्न सकिने बताए । अभियानमा बिश्व स्वास्थ्य संगठनका कोशी प्रदेश संयोजक डा संगीता राई , मधेश प्रदेश संयोजक डा। कमलेश यादव लगायतले सहजीकरण गरेका थिए ।
रोङ गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले स्वास्थ्य क्षेत्रका लागि पालिकाले पर्याप्त बजेटको ब्यवस्था गरेको बताइन् । उपाध्यक्ष खवासले पालिका भित्रका नागरिक रोग लागेर उपचारको अभावमा मर्न नपरोस भनेर पालिकाले स्वास्थ्य क्षेत्रलाई बजेटमै समेटिको जानकारी दिइन्। पालिका भित्रका स्वास्थ्यकर्मीले आफनो कार्य क्षेत्रमा गएर नसर्ने रोगका बिरामीको खोजी गरी मासिक डायरीमा दर्ता गरी अनलाईनमा दर्ता गर्ने छन ।
मासिक रुपमा उच्च रक्तचापको अवस्था थाहा पाउनका लागि अनलाईनमा दर्ता गरी मापन गरीने शाखा प्रमुख काफेले जानकारी दिए । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले पालिकामा यस अघि देखि नै रोगको खोजी अभियान संचालन गरिदै आएको जानकारी दिदै बिश्व स्वास्थ्य संगठन सहितको सहयोगमा थालिएको अभियानले थप रोगीको खोजी गर्न सहज हुने बताए ।
उनले भने ‘स्वास्थ्यको क्षेत्रमा पालिका संवेदनशिल भएर लागेको छ, रोग लागेको मात्र थाहा भयो भने नागरिक बचाउन सकिने रहेछ ।’ गाउँपालिकाले गत बर्ष देखि पालिकाका ६ वटै वडामा बिशेषज्ञ चिकित्सक सहितको शिविर संचालन गरी रोगीको खोजी अभियान संचालन गर्दै आएको छ ।नेपालमा हाल नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसको मृत्यु हुने गरेको बिश्व स्वास्थ्य संगनको तथ्यांकमा उल्लेख छ ।
प्रत्येक १० जना मध्ये ७ जनाको ज्यान नसर्ने रोगका कारण हुने गरेको जनाईएको छ । २०१९ को सर्वे अनुसार नेपालमा ४७ लाख मानिस उच्च रक्तचापले ग्रसित छन् । जसमध्ये जम्मा ४ लाखले मात्र उपचार पाइरहेको अवस्था छ । यस मध्ये २ लाख बिरामीको मात्र उच्च रक्तचाप नियन्त्रणमा छ ।
नेपाल सरकारले २०२५ को अन्त्य सम्ममा १५ लाख उच्च रक्तचापका बिरामीको क्रोनिक केयर गरी उपचार गर्ने लक्ष्य लिइएको जनाईएको छ ।