इलाम । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरमा २१ औँ धान राष्ट्रिय धान दिवस मनाइएको छ । सन्दकपुर ३ को रमणिय र पर्यटकीय क्षेत्र टारीमा प्रथम पटक राष्ट्रिय धान दिवस मनाइएको हो ।
सन्दकपुर गाउँपालिका इलाम र कृषि ज्ञान केन्द्र इलामको आयोजनामा प्रथम पटक सदरमुकाम बाहिर प्रथम पटक राष्ट्रिय धान दिवस मनाइएको हो । जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ मनाइएको धान दिवसमा जिल्ला समन्वय प्रमुख जयप्रकास राई, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायत उपस्थित किसानहरुले सामुहिक रुपमा धान रोपण गरेका थिए ।
कृषि ज्ञान केन्द्र इलामका प्रमुख राम जुगन यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख जयप्रकास राईले कृषि क्षेत्रको आधुनिकिकरणका लागि तीनै तहका सरकार एक भएर लाग्नुपर्ने बताए । उनले कृषि क्षेत्रमा आधुनिकता ल्याएमात्रै वैदेसिक रोजगारी अन्त्य हुने बताए । गाउँमै स्वरोजगार सिर्जना गर्न उत्पादनमुखि कार्यक्रमहरु किसान लक्षित संचालन गर्नुपर्नेमा प्रमुखको जोड थियो ।
कार्यक्रममा बोल्दै सन्दकपु गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ पालिकाको अर्थतन्त्रको मुख्य आधार कृषि क्षेत्र भएकाले लगानी वृद्धि गरिएको बताए । गाउँपालिकाले पशुपालन, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्दै लगिएको अध्यक्ष गुरुङ्गले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले किसानले मानो रोपेर मुरी फलाउने असार महिना भएकाले सबै एक भएर कृषि क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले खाध्यवाली उत्पादन वृद्धिका लागि हरेक वर्ष मनाइने धान दिवसले किसानलाई उत्साहा ल्याउने बताए । खाध्यबालीमध्ये धानबाली उत्पादनमा वृद्धि ल्याउन सबै एक भएर लाग्नुपर्नेमा उपाध्यक्ष लुङ्गेलीको जोड थियो ।
कार्यक्रममा स्थानीय वुद्धिजीजि नेत्र रिजालले टारी बेंसिका बारेमा जानकारी गराएका थिए । २१ औँ राष्ट्रि धान दिवसमा किसान, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायको उपस्थिति रहेको थियो ।