इलाम । वर्तमान अवस्थामा नेपाली खेलकुदको विकासको कुरा गर्दा नाक खुम्च्याउने अवस्था छ । खेलकुदको विकासको नाममा स्थापना भएको सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद विकास बोर्ड कार्यकर्ता व्यवस्थापन गर्ने निकाय जस्तो मात्र भएको छ । कोशीप्रदेशको सन्दर्भमा सरकार परिर्वतनसँगै सदस्य सचिव परिवर्तनको किचलोमा नै अल्झिरहेको छ । तत्कालीन प्रदेशसभाबाट ‘प्रदेश खेलकुद ऐन २०७६’ पारित भएपछि सोही ऐनलाई टेकेर दुई वर्षपछि २०७८ असोज २४ गते प्रदेश खेलकुद बोर्ड गठनको कार्य अघि बढ्यो ।
तत्कालिन मुख्यमन्त्री भीम आचार्यले पर्शुराम बस्नेतलाई पहिलो खेलकुद विकास बोर्डको सदस्य सचिव र बाबा मेन्याङबोलाई उपाध्यक्षमा नियुक्त गरेका थिए । बस्नेत र मेन्याङबोले ६ महिना कार्यकाल गुजार्न नपाउँदै सरकार परिवर्तनको कोपभाजनमा परे । सरकार परिवर्तन भएसँगै २०७८ चैत्र २१ मा बस्नेतलाई पदमुक्त गरेर ओखलढुङगाका पूर्व राष्ट्रिय भलिबल खेलाडी हंसराज वाग्ले सदस्य सचिव र जीना कार्कीलाई उपाध्यक्षको रुपमा नियुक्त भए । वाग्लेले पदभार ग्रहण गरेको एकबर्ष नपुग्दै सरकार परिवर्तन भयो । उनी पनि २०८० जेठ ३ गते पदमुक्त भए ।
२०८० बैशाख १४ देखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलको ब्यानरमा कोशी प्रदेश नलेखेको कारण देखाउँदै वाग्ले बर्खास्तमा परेका थिए ।दोस्रो कार्यकालका लागि निर्वाचन भएपछि मुख्यमन्त्री हिक्मत कार्की रहेका थिए । प्रदेश १ बाट कोशी प्रदेश नामाकरण भएपछि पनि संविधान अनुसार सरकारको संरचनाले काम नगरेको देखिएपछि उनलाई हटाइएको थियो । कोशी प्रदेश सरकारको नाम किन नलेखेको भन्दै दुई पटक स्पष्टीकरण सोधिएको थियो । चित्तबुझ्दो जवाफ नपाएको वाहनामा वाग्ले वर्खास्तमा परे ।
त्यहि समयमा प्रदेश खेलकुद विकास बोर्ड मार्फत विभिन्न प्रतियोगिता संचालन भइरहेको थियो । आर्थिक बर्ष सकिन लागेको कारण बोर्डलाई विनियोजित बजेटबाट हतारोमा विभिन्न प्रतियोगिता संचालन गर्नु थियो । ओखलढुङ्गामा प्रथम मुख्यमन्त्री कप फुटबल, झापामा शारीरिक सुगठन लगायतका प्रतियोगिताको तयारी अघि बढेको थियो । सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सदस्य सचिव वाग्ले बिचको शितयुद्धले मुख्यमन्त्री कप भलिबल पछि खेलकुदका गतिविधिहरु ठप्प भए ।
प्रतियोगिताको तयारीमा गरेका खेलाडीहरु अन्यौलमा रहे । अन्ततः उच्च अदालत पुगेका वाग्लेलाई नहटाउन अल्पकालिन आदेश जारी भएपछि प्रतियोगिताहरु संचालन भए । तर, किचलो त्यतिमा मात्र सकिएन् । वाग्लेले विभिन्न क्षेत्रका कार्यक्रममा सहभागी हुँदै आफ्नो मातहतमा कर्मचारी नभएको, सरकारले पर्याप्त बजेट नछुट्टाएको, खेलकुद क्षेत्रको विकासमा कुनै काम गर्न नसकेको बताउँदै आए ।
जिल्ला खेलकुद विकास समितिमा समेत संघीय सरकार मातहतको राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरु भएकाले प्रदेश बोर्ड मातहतको जिल्ला खेलकद विकास समितिका अध्यक्षसंग असन्तुष्टि रहँदै आएको थियो । कार्यालयहरुमा समेत दुई प्रकारका बोर्डहरु झुन्डयाइए । वाग्लेको कार्यकालमा कर्मचारी प्रदेश मातहत ल्याएपछि अवस्था सहज बन्यो । बस्नेतको पुर्नवहाली हुनुअघिसम्म वाग्लेको कार्यकाल केही रचनात्मक र केही विवादका बिचमा नै रहयो । प्रशिक्षक नियुक्तिको बिषयमा उनी विवादमा परे । धाँधलीपूर्ण रुपमा प्रशिक्षका नियुक्त गरिएको भन्दै सामाजिक विकास मन्त्रालयमा परेको उजुरीको समेत सामना गर्नुप¥यो ।
विभिन्न १५ वटा खेलका १७ जना प्रशिक्षकलाई ३ महिनाका लागि करारमा नियुक्त गर्न बोर्डले चैत ३ गते सात दिने सूचना जारी गरेर दरखास्त आह्वान गरेको थियो । ८४ जनाको आवेदन परेकोमा सर्ट लिष्टमा ४२ जनालाई समावेश गर्दै चैत १५ गते अन्तर्वार्ता लिएर १७ जना प्रशिक्षकमा नियुक्त भएका थिए । प्रशिक्षक नियुक्तिको विषयलाई लिएर बोर्ड र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच विवाद बढ्दै गएको थियो ।
४२ जना प्रशिक्षकलाई ६ महिनाको करारमा राख्न बोर्डले प्रदेश सरकारसँग ९६ लाख रूपैयाँ माग गरेकोमा २१ लाख रुपैयाँ मात्र उपलब्ध गराएपछि ३ महिनाका लागि १७प्रशिक्षकलाई छनोट गरिएको वाग्लेको दावी थियो ।
बस्नेतको पुर्नवहाली, वाग्ले बर्हिगमन
अदालतबाट पर्शुराम बस्नेत सदस्य सचिवमा पुर्नवहाली भएपछि वाग्लेको बर्हिगमन भयो । तर, सरकार र खेलकुद विकास बोर्डको तालमेल राजनीतिक रुपमा नमिल्दा खटपट देखियो । बस्नेत पद बहाली भएको पाँच दिनपछि (बैशाख २३ गते ) पहिलो पटक सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री केदार कार्कीले २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
बस्नेतले दिएको स्पष्टीकरणमा सोधिएको विषय भन्दा फरक जवाफ दिएको र अटेरी गरेको भन्दै मुख्यमन्त्री कार्कीले बैशाख २५ गते दोस्रो स्पष्टीकरण पत्र लेख्दै बैशाख २६ गते बुधवार दिउँसो ३ बजेसम्ममा मनासिब सफाइ पेस गर्न आग्रह गरेका थिए । प्रदेशसभाको निर्वाचनमा सरिक भएको भन्दै कोशी प्रदेश निर्वाचन कार्यालयबाट कागजात प्राप्त भएकाले उम्मेदवारले सो अवधिको राज्य कोषबाट तलब भत्ता पाउन नसक्ने व्यवस्था प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उल्लेख भएकोले सदस्य सचिव बस्न अयोग्य रहेको कार्कीले लेखेको पत्रमा उल्लेख थियो । प्रदेश बोर्डको विवाद यतिमा मात्र सिमिति रहँदैन् ।
उपाध्यक्ष नियुक्ति पनि विवादमा
वर्तमान उपाध्यक्ष समेत रहेकी पूर्वप्रदेशसभा सदस्य विन्दिया कार्कीको नियुक्ति नै विवादास्पद बनेको थियो । उपाध्यक्ष रहेकी जीना कार्की अमेरिका गएपछि चैत्र ९ गते विन्दिया उपाध्यक्ष बनेकी थिइन् । खेलकुद क्षेत्रमा १० वर्षसम्म अनुभव भएको व्यक्तिलाई सामाजिक विकास मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था छ । तर, तत्कालिन मुख्यमन्त्री केदार कार्कीको दबाबमा उपाध्यक्ष बनाइएको आरोप छ । कार्कीको दाबी भने पुर्व बास्केटबल र ब्याडमिन्टन खेलाडी रहेको छ ।
आरोह–अवरोहका बिच खेलाडी र प्रशिक्षक प्रोत्साहनका कार्यक्रम
वाग्लेले २०७८ चैत्र २२ देखि २०८१ जेठसम्म खेलकुद बोर्डमा रहँदा खेलाडी प्रोत्साहनको कार्यक्रमहरु अघि सारेको देखिन्छ । स्थानीय तहको निर्वाचनको सम्मुखमा बोर्ड हाक्न आएका वाग्लेले केही रचनात्मक कार्यहरु गर्न भ्याए । कोशी प्रदेशबाट ओलम्पिक, एसियाली खेलकुद दक्षिण एसियाली खेलकुदमा सहभागी ३५० खेलाडीलाई एकै साथ सम्मान गर्ने कार्यक्रम अघि बढाए । खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै कोशीका खेलाडीहरुलाई नोबल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेजमा हस्पिटलमा निशुःल्क उपचार र परिवारलाई ५० प्रतिशत छुटमा उपचार गराउने कार्य सम्झौता भएको थियो ।
वाग्ले अहिले ३ सय भन्दा बढि खेलाडीले सुविधा उपभोग गरिरहेको बताउँछन् । ‘ एकै ठाउँमा यति धेरै खेलाडी सम्मानित भएको नेपाली खेलकुदको इतिहासमा कोशी प्रदेशमा नै हो । खेलाडी उपचारका लागि चालिएको कदम दक्षिण एसियाली खेलकुदको इतिहासमा नै पहिलो हो ।’ उनले भने । खेलकुदमा सिमित लगानीका बाबजुद पनि नवौ राष्ट्रिय खेलकुदमा तत्कालिन प्रदेश–१ ले आफ्नो पुरानो अवस्थालाई सुधार गरेको छ ।
नेपालगञ्जमा २०७६ मा भएको आठौ खेलकुदमा ९ स्वर्णसहित ८७ पदक जोडेर सातौ स्थानमा रहेको प्रदेश नवौ राष्ट्रिय खेलकुदमा १० स्वर्णसहित ७९ पदकसहित छैटो स्थानमा उक्लिएको थियो । प्रदेश सरकारको सहयोगमा बोर्ड मार्फत २०७९ मंसिरमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा पदक जितेका १ सय ९६ जनालाई नगदसहित पुरस्कृत भए । बोर्ड मार्फत प्रदेश सरकारले स्वर्ण पदक विजेता खेलाडीलाई नगद एक लाख, स्वर्णमै इभेन्ट्सतर्फ ७५ हजार, रजत एकलमा ७५ हजार र रजतकै इभेन्ट्समा ५० हजार, कास्य एकलमा ५० हजार र इभेन्ट्समा २५ हजार, प्रशिक्षकलाई २५ हजार र खेल व्यवस्थापकलाई २० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरेको थियो ।
बोर्ड मार्फत नीजि क्षेत्र र खेल संघसंगको सहकार्यमा ७५ भन्दा बढि साना–ठुला प्रतियोगिता संचालन भए । महिला सेल्फ डिफेन्स, स्कुल ओलम्पिक, अपाङ्गताका लागि खेलकुद जस्ता रचनात्मक कार्यहरु बोर्ड मार्फत भएका छन् । विभिन्न उतारचढावका बाबजुद पनि २०८० सालमा इटहरी रंगशालामा रात्रीकालिन भलिबल खेल संचानलनमा आएको थियो । यस बर्षको सुरुवातमै बागमती प्रदेशको आयोजनामा भएको अन्तर प्रदेश खेलकुदमा कोसी प्रदेशले १६ स्वर्ण, २३ रजत र ३६ कांस्य गरी ७४ पदक जितेर तेश्रो स्थान हासिल गर्न सफल भएको छ ।
खेलाडीहरुले उचित प्रशिक्षण पाएकाले सम्मानजनक स्थान पाएको तत्कालिन सदस्य सचिव हंशराज वाग्ले बताउँछन् । ‘विभिन्न ९ खेलका महिला तथा पुरुष खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराउने काम भएको थियो । इटहरीमा भलिबल, फुटबल, कराते, तेक्वान्दो र एथलेटिक्स तथा धरानमा बक्सिङ, झापामा ब्याडमिन्टन, विराटनगरमा क्रिकेट र काठमाडौंमा पौडीको प्रशिक्षण चलाइएको थियो ।’ उनले भने गत चैत्रमा बोर्डले अन्तर्राष्ट्रिय पदक प्राप्त १४ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो ।धनकुटामा कार्यक्रम आयोजना गर्दै तीन प्रशिक्षकसहित ११ खेलाडीलाई रु २५ हजारदेखि दुई लाखसम्म नगद पुरस्कार र सम्मान प्रदान गरेको थियो ।
ऐतिहासिक ओलम्पियनहरुको मिट आयोजना
नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा बोर्डले तेश्रो संस्करणको ओलम्पियन्स रियुनियन तथा सेलिब्रेटी मिट कार्यक्रम सम्पन्न गरेको थियो । प्रदेशलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउनका लागि १९६४ को टोकियो ओलम्पिकमा सहभागी नेपालको पहिलो ओलम्पियन नामसिंह थापा मगर देखि २०२० को टोकियो ओलम्पिकमा सहभागीता जनाए युवा खेलाडीहरु कोशीमा भेला भए । नेपालबाट ओलम्पिकमा प्रतिनिधित्व गरेका ६० खेलाडी, विदेशका ओलम्पिक खेलाडी, कोशी प्रदेशभित्रका करिब २५ जना ‘सेलिब्रेटी प्लेयर’ र खेल पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रदेशको पर्यटकीय नगरी सूर्योदयमा ओलम्पियनहरुको जमघटले खेलकुद पर्यटनमा समेत टेवा पुगेको नगर प्रमुख रण बहादुर राई बताउँछन् । सूर्योदयले २०८३ लाई खेलकुद बर्षको रुपमा मनाउँन लागेको बताउँदै ओलम्पियनहरुसंगको भेटले स्थानीय खेलाडीहरुमा समते उर्जा थपिएको उनी बताउँछन् । इलामको माटोमा जन्मिएर सन् २०१२ को लन्डन ओलम्पिकमा सहभागि प्रमिला रिजाल ओलम्पिक मिटले पर्यटन प्रर्वद्धनसंगै खेलकुदमा नयाँ पुस्तालाई आर्कषित गरेको सुनाउँछिन् । ‘६० बर्षको समयमावधिमा ओलम्पियनहरु एकै छातामा भेटिनु सौभाग्यकै कुरा हो । विदेशबाट आएका पाहुना ओलम्पियहरुले समेत कार्यक्रम र पर्यटकीय सम्भावनाको तारिफ गरेर नै जानुभयो । ’ उनले भनिन् ‘ ५० भन्दा बढि ओलम्पियहरु एकै मञ्चमा देख्दा नयाँ खेलाडीहरुमा समेत उर्जा थपेको पाइन्छ । कोशी प्रदेशमा यस्तो अवसर जुर्न फेरि धेरै समय लाग्छ । ’
इटहरी र विराटनगरमा रात्रिकालिन खेलकुदको सम्भावना खोजि
प्रदेशसरकारले लगानी गरेपछि अहिले काठमाण्डै बाहिर रात्रिकालिन खेलकुदको सम्भावना कोशी प्रदेशमा रहेको छ । विराटनगरको शहिद रंगशाला र इटहरीको क्षेत्रिय रंगशालामा अहिले फल्र्ड लाइट जडान गरिएपछि रात्रिकालिन खेलकुदको हव बन्दै गएको छ । प्रदेशको मुख्यमन्त्री शेरधन राई रहँदा ५ करोडको लागतमा विराटनगरमा फल्र्ड लाइट जडान गरिएको थियो । अहिले विराटनगरमा निरन्तर विराट गोल्डकप संचालन भइरहेको छ । इटहरी रंगशालामा कोशी प्रदेश सरकार खेलकुद विकास बोर्डले आर्थिक बर्ष २०७९÷८० मा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
प्रदेश सरकारले आर्थिक बर्ष ०७९/८० को बजेटमा नै इटहरीलाई स्पोटर्स सिटीको रुपमा उल्लेख गर्दै सन्ध्याकालीन समयमा समेत फुटबल लगायतका खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न फ्लड लाइट जडानका लागि गर्न बजेट विनियोजन गरेको थियो । लाइट जडान भएपछि इटहरीमा गत चैत्रमा इटहरी गोल्डकप पहिलो पटक रात्रिकालिन रुपमा संचालन भएको थियो । इटहरी रंगशालामा पटक पटक रात्रिकालिन भलिबल आयोजना भएको थियो । तर स्थायी फल्र्ड लाइट नहुँदा प्रतियोतिा संचालनमा कठिनाई देखिएको जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष अनुरोध थापा बताउँछन् ।
अस्थायी लाइट राखेर प्रतियोगिता संचालन गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेका आयोजकहरुले यस बर्षबाट ढुक्कसंग ३५० ग्रसको फल्र्ड लाइटमा प्रतियोगिता संचालन गर्न सक्नेछन् । मेची रंगशाला स्तोरन्नती, आदिवासी रंगशाला निर्माण लगायत मैदानहरुमा समेत लगानी हुँदै आएको छ ।
बस्नेतको पुर्नवहालीपछि २ महिनामा १२ कार्यक्रम
कोशी प्रदेश खेलकुद विकास बोर्डमा कृष्ण बस्नेतको पुनरागमनसंगै असार १५ भित्र १२ वटा खेलकुद प्रतियोगिता संचालन गरिने भएको छ । बोर्डको तालिका अनुसार प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता असार ३ देखि ७ गतेसम्म तेह्रथुममा, कबड्डी प्रतियोगिता असार ७ देखि १० गतेसम्म मोरङमा, महिला फुटबल असार ८ देखि १३ गतेसम्म खोटाङमा, शरीरिक सुगठन असार १० देखि १२ गतेसम्म झापामा र भारोत्तोलन असार १३ देखि १५ गतेसम्म विराटनगरमा गरिने छ ।
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता मोरङमा, प्रदेशस्तरीय पौडी प्रतियोगिता सुनसरी र मोरङमा, महिला ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तथा योगा प्रशिक्षण झापा, मोरङ र सुनसरीका ३ वटा विद्यालयमा तथा प्रदेशस्तरीय कुरास प्रतियोगिता सुनसरीमा गर्ने तय भएको छ । फरक क्षमता (अपांगता) भएकाहरुले खेल्ने पारा खेलकुदमध्ये क्रिकेट र पौडी प्रतियोगिता विराटनगरमा तथा बास्केटबल धरानमा हुने भएको छ । खेलकुद प्रतियोगिता आयोजनाका लागि १ करोड ६ लाख रूपैयाँ बजेट छुट्याइएको सदस्य सचिव बस्नेतले बताए ।