इलाम । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले इलामका सरकारी कार्यालयबाट हुने सेवा प्रभावलाई चुस्त बनाउन लागि पर्ने बताएकी छन् । इलामको शान्ति सुरक्षालाई व्यवस्थित बनाउन जिल्लाको सुरक्षा निकाय चुस्त रुपमा परिचालन भएको उनले बताइन् ।
सरकारले इलामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाएपछि इलाम आएकी श्रेष्ठले इलामका पत्रकारहरुसँग जिल्लाको अवस्थाका बारेमा छलफल गरेकी थिइन् । पत्रकारहरुको छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नेपाल भारत सीमा क्षेत्रको सुरक्षा चुस्त बनाउन र सीमा क्षेत्रबाट हुने लागुऔषध पदार्थ तस्करी नियन्त्रणका लागि बिषेश ध्यान दिने बताइन् ।
श्रेष्ठले जिल्लाका स्थानीय तहमा भाडादर निर्धाणका लागि सुरक्षा स्थानीय तहसँग समन्वय गर्ने जानकारी दिइन् । वर्षातमा हुने विपद्लाई न्युनिकरण गर्न र उद्धारका लागि स्थानीय तहसँग समन्वय हुँदै आएको र सुरक्षा निकायको टोलीपनि तयारी अवस्थामा राखिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन् । भेटघाटमा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, सल्लाहाकार सुजन तिमसिना, कोषाध्यक्ष राम योङ्हाङ्ग, पत्रकारहरु गोपाल निरौला, सिर्जना श्रेष्ठ लगायतले जिल्लाको विभिन्न क्षेत्रको बिषयमा सुझाव दिएका थिए ।
