Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नाका नखुल्दा आर्थिक मन्दीले पिरोलिँदै पशुपतिनगर

नाका नखुल्दा आर्थिक मन्दीले पिरोलिँदै पशुपतिनगर

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार १ २०८१


नाका नखुल्दा आर्थिक मन्दीले पिरोलिँदै पशुपतिनगर

इलाम– इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा यतिबेला भारतीय पर्यटकको चहलपहल छ । तराईमा गर्मी बढेसँगै भारतको पश्चिमबंगाल क्षेत्रबाट सिक्किम र दार्जिलिङ पहाड घुम्न आउने पर्यटक एकैछिनका लागि पशुपतिनगर छिर्ने गरेका छन् । पश्चिम बंगालका सिलिगुडी, डुवर्स, नक्सललगायत स्थानबाट पहाड आएका भारतीय पर्यटक अहिले दिनहुँजसो पशुपतिनगर बजार आउने गरेका छन् । उनीहरूले पशुपनिगरमा करिब एक घन्टाको समयमा कपडा, झोलालगायत विभिन्न घर सजावटका चिनियाँ सामग्री किनेर लैजाने गरेका छन् ।

अहिले पशुपतिनगर बजार पनि यिनै भारतीय पर्यटकका भरमै चलिरहेको छ । पशुपतिनगरको फाटकनजिक राखिएको पर्यटन सूचना केन्द्रका अनुसार गएको वैशाखमा चार हजार ५७ र यही जेठ ३० सम्ममा पाँच हजार छ सय भारतीय पर्यटक नेपाल आएका छन् । २०–२२ वर्षअघि दिनहुँ लाखौं रुपैयाँको कारोबार हुने पशुपतिनगरको अहिलेको व्यापार निकै दयनीय भएको सूर्योदय नगरपालिका–२ का वडासदस्य उपेन्द्रराज पाण्डे बताउँछन् ।

‘पहिला बिहान ८–९ बजेदेखि पशुपतिनगर बजारमा गाउँ–गाउँबाट आउने मानिस खचाखच हुन्थे, अहिले छैन । हरेक गाउँ–टोलमा सडक सुविधाले पनि मानिस टाढाकै बजार जाने गरेका छन्,’ पाण्डेले भने, ‘अहिले पशुपतिनगर दार्जिलिङबाट एकैछिनका लागि आउने भारतीय पर्यटककै भरमा छ । यहाँको व्यापार–व्यवसाय कसरी टिकाउने भन्ने चिन्ता छ ।’

पहाडी जिल्लामध्ये भारतसँग सहज बाटो जोडिएको पहाडी नाका त पशुपतिनगरनै हो । तर, यो नाकालाई वैधता दिन नसक्दा पशुपतिनगरको आर्थिक गति ओरालो लागेको सूर्योदय नगरपालिकास्थित उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राई बताउँछन् । ‘यहाँबाट कृषि उत्पादन अलि–अलि निकासी हुन्छ । भारततिर अध्यागमन छैन । हाम्रो नेपालतिरको अध्यागमनबाट पनि केही काम हुन सकेको छैन,’ राई भन्छन्, ‘सरकारले केन्द्रीयस्तरबाटै भारततर्फ अध्यागमन स्थापनाको पहल नगर्दा पशुपतिनगरमा आर्थिक संकटको अवस्था छ । यो नाकालाई वैधता दिने हो भने तेस्रो मुलकका पर्यटक आउन र पूर्वी पहाडमा उत्पादित कृषि उपज निकासी गर्न धेरै सहज हुनेछ ।’

पशुपतिनगर नाका चालु गराउन सक्दा राजस्व संकलन बढ्नेदेखि पूर्वका किसानको आर्थिक अवस्था सुध्रिने भएकाले देशलाई पनि फाइदा पुग्ने अध्यक्ष राईको भनाइ छ । नेपालमा उत्पादन भएका अदुवा, चिया, कुचो, जडीबुटी, आलु, तरकारीजस्ता वस्तु भारत निर्यात गर्न पनि पहाडी जिल्लाबाट झापाको काँकडभिट्टा नाका नै लैजानुपर्ने बाध्यता छ । त्यसो त, नेपालतर्फ करिब पाँच वर्षअघि स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन छ । यो कार्यालयमा रहेका कर्मचारी हाजिर गरेरमात्र बस्ने बाध्यतामा छन् ।

सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई पशुपतिनगरमा भारतपट्टि अध्यागमन राख्ने विषयमा भारतीय राजदूतसँग पटक–पटक कुरा भएको बताए । ‘भारतीय राजदूतसँग भारततर्फ अध्यागमन राख्ने विषयमा पटक–पटक कुरा भएको छ । तर, पश्चिमबंगाल सरकारको स्वीकृत नभई केन्द्र सरकारले त्यहाँ अध्यागमन राख्न नमिल्नेजस्तो बुझिन्छ,’ उनले भने, ‘अब संघीय सरकारले यो विषयमा कुटनीतिक पहल नै गर्न जरुरी छ ।’

राईले पशुपतिनगरमा भारततर्फ क्वारेन्टाइन राख्न लगाएर पूर्वीपहाडका लागि कृषि, पर्यटन, उद्योगधन्दा सबै क्षेत्रमा नाका खुला गर्नु आवश्यक रहेको बताए । पालिका पेजबाट

प्रतिक्रिया
सम्बन्धित समाचार