इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले संसद्को रोस्टममा उभिएर पहिलोपटक सदनलाई सम्बोधन गरेका छन्।
आगामी आर्थिक वर्ष ०८१/८२ का लागि प्रस्तावित बजेटको छलफलमा भाग लिने क्रममा प्रतिनिधिसभाको रोस्टममा उक्लिएका सांसद नेम्वाङले सहिदहरू, मतदाता र आफ्ना पितालाई सम्झिए। बजेटबारे संक्षिप्त धारणा राखे।
प्रारम्भमा सुहाङले रत्न वान्तवा, बम वान्तवालगायत सम्पूर्ण ज्ञानअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। आफूलाई निर्वाचित गरेर पठाउने इलाम, देउमाई, चुलाचुली, थापकथुम, माङसेबुङ र माईका जनसमुदायप्रति आभार प्रकट गरे।
‘२६ भदौको अप्रिय घटनापश्चात् १५ वैशाखको उपनिर्वाचनबाट पहिलोपटक संसद् छिर्दै यहाँ बोलिरहेको छु, मलाई लागिरहेको छ, बुवा यहाँ कतै हुनुहुन्छ। बुवालाई सम्झेर भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्न चाहन्छु,’ उनले भने।
पिता सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिँदै सुहाङले सदनमा प्रतिबद्धता जनाए, ‘बुवा लोकतन्त्रका हिमायती हुनुहुन्थ्यो। विचारको विविधता, बहुदलीय प्रतिस्पर्धा र स्वस्थ बहसलाई सम्मान गर्नुहुन्थ्यो। एकबद्ध भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा अविचलित हुनुहुन्थ्यो । सबै भाषाभाषी, जातजाति, धर्म संस्कृतिहरूको सहअस्तित्व र आपसी एकता तथा मेलमिलापले मात्रै राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्यो। म उहाँले देखाएको यही मार्गदर्शनलाई शिरमा राखेर काम गर्ने संकल्प गर्दछु।’
नेम्वाङले पार्टी अध्यक्ष केपी ओली, गठबन्धनका नेताहरूलाई पनि धन्यवाद दिए। ‘मेरो हात समाएर अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने अध्यक्ष केपी ओलीप्रति आभार व्यक्त गर्छु। गठबन्धन दलप्रति धन्यवाद छ,’ उनले भने।
बजेटको सन्दर्भमा अग्रजले राखेका कुरालाई समर्थन गर्दै उनले अर्थमन्त्रीले यथार्थलाई टेकेर बजेट ल्याउने प्रयास गरेको बताए। ‘हरेक विषयको बलियो र कमजोर पक्ष हुन्छ। उज्यालो सँगसँगै छाया पनि हुन्छ। उज्यालो पाटोलाई बोकेर छुटेकालाई सुधार गर्नतर्फ बहस र सुझाव केन्द्रित गर्नुपर्छ,’ उनले भने।
जनताको आशा सम्बोधनका लागि बजेट पर्याप्तताको ठूलो प्रश्न रहेको भन्दै सुहाङले विकासको बाधक, कार्यान्वयनमा समस्या, विकास र समृद्धिको बाटोमा आएका अवरोध पन्छाएर बजेट कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।