इलाम । नेपाली चियाको बजार बिस्तार र चिया मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले इलाममा अन्तराष्ट्रिया चिया महोत्सव तीन दिन हुने भएको छ । बैशाख २६ बाट तीन दिन नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका, केचना कंचनजंघा पर्यटन विकास समिति लगायत सरोकारवाला संस्थाहरुको पहलमा महोत्सवको आयोजना हुने भएकोे हो । विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्दै गएको चियाका लागि आयोजना हुने अन्तर्राष्ट्रिय चिया महोत्सव २०८१ गौतमवुद्ध सभागृहमा संचालन हुनेछ ।
नेपाली चियाको बजार विस्तारका लागि सदरमुकाममा चिया महोत्सवको आयोजना हुने इलाम नगरपालिका प्रमुख केदार थापाले बताए । समितिको बुधबार बसेको बैठकले नेपाली चियाको बजारीकरणमा सहयोग पुग्ने र चिया पर्यटनलाई समेत टेवा पुग्ने भएकाले महोत्सव तीन दिनसम्म आयोजना गर्ने निर्णय भएको केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए । नेपाल पर्यटन वोर्डले अन्तराष्ट्रिय चिया महोत्सवमा आर्थिक सहयोग गर्नेछ ।
विसं १९२० मा इलामबाटै रोपण सुरु गरिएको चिया खेती अहिले देशका विभिन्न जिल्लामा विस्तार भइसकेको छ । ‘चिया रोपण पनि इलामबाटै भएको र देशको जेठो चिया कारखाना पनि विसं १९३५ मा इलाममै स्थापना भएकाले यो महोत्सवले विशेष महत्व राख्नेछ’ नगर प्रमुख थापाले भने–यो महोत्सवमा चिया किसान, उद्योगी, व्यापारीहरु सहभागी गराइने लक्ष्य छ ।’ महोत्सवमा उत्कृष्ट उत्पादन भएका अर्थोडक्स चियाका प्रकार, टेस्टिङसहित विभिन्न स्वाद र जातका तयारी चियाका स्टल रहनेछन् ।
महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि पनि सहयोग पुग्ने अपेक्षा राखिएको छ । महोत्सवमा चिया टेस्टिङ, अन्तराष्ट्रिय चिया उद्यमी र व्यवसायीसँग अन्तरक्रिया, चिया बगानहरुको भ्रमण लगायतका कार्यक्रम तय भएको केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमसिनाले बताए । अन्तराष्ट्रिय चिया व्यवसायीलाई आमन्त्रणका लागि इलाम उद्योग बाणिज्य संघ, सूर्योेदय टि एशोसिएसन लगायतका संस्थाहरुले समन्वय गर्नेछन् ।