इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा रहेको तीनजुरे सहकारी संस्थाले अर्गानिक चिया उत्पादन गर्न थालेको छ । २०५१ सालमा स्थापना भएको सहकारी संस्थाको चिया अर्गानिक प्रमाणिकरण भएपछि अन्तराष्ट्रिय बजारमा माग समेत बढको छ ।
सहकारीका माध्यमबाट चियाको खेती प्रविधि र यसले दिने आम्दानीका बारेमा जानकारी भएपछि फाकफोकथुमको आमचोकका किसानले चिया खेती गरेका थिए । चिया खेती गर्ने किसानको सख्या बढ्दै गएपछि तीनजुरे चिया सहकारी संस्थाले उद्योग स्थापना गरेको थियो । संकलन भएको चिया प्रशोधनका लागि इलाम नगरपालिका पठाउनुपर्ने बाध्यता हटाउन २०७० जेठमा चिया प्रशोधन उद्योग स्थापना भएको थियो ।
स्थापनाको समयमा बार्षिक ३ हजार तयारी चिया उत्पादन गरेको सहकारीले अहिले ११ हजार किलो तयारी चिया बनाउँछ । उद्योगमा सिजनमा ५७ हजार हरियो चिया प्रशोधन गरेको सहकारीका अध्यक्ष ऋतुकान्त खनालले बताए ।
उद्योगमा, ब्लाक, गोल्डेन र ग्रिन चिया उत्पादन हुन्छ । सहकारीबाट उत्पादन भएको चिया पूर्ण रुपमा अर्गानिक हो । सहकारीले अहिले ७ जना लाई रोजगारी समेत दिएको छ । सहकारीको कार्यालय व्यवस्थापनमा ३ जना र उद्योगमा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उद्योगबाट उत्पादन भएको चिया ७० प्रतिशत नेपालको आन्तरिक बजारमा बिक्रि हुन्छ भने ३० प्रतिसत अन्तराष्ट्रिय बजारमा निर्यात हुन्छ । उद्योगको नेपाली बजार इलाम, झापा, पोखरा र काठमाडौँ हो । अन्तराष्ट्रिय बजार फ्रान्स, अमेरीका र नेदरल्याण्डका हुन् । देशको प्रथम चिया सहकारीलाई गाउँपालिकाले पनि सहयोग गर्दै आएको सहकारी शाखा प्रमुख बिमल घिमिरेले बताए ।
चिया चैत्र महिनादेखि कात्तिक महिनासम्म उत्पादन र प्रशोधन हुन्छ । किसानले हरेक सिजनको हरियो चिया पत्तिको मुल्य प्रतिकिलो १ सय २० रुपैयाँ पाउने गरेका छन् ।