इलाम । ग्रामीण क्षेत्रको अर्थतन्त्रका आधार भएका इलामका सहकारी संस्थाहरु पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन् । राज्यको पुनः संरचनापछि स्थानीय तहमा हस्तान्तरण भएका सहकारी संस्थाहरु नियमन गर्ने जनशक्ति अभावले पनि इलामका सहकारी संस्थाहरुमा समस्या रहेका हो ।
फाकफोकथुम गाउँपालिकामा डिभिजन सहकारी कार्यालयबाट ३८ वटा सहकारी संस्था हस्तान्तरण भएका थिए । राज्य पुनःसंरचनापछि सहकारी हेर्ने अधिकार स्थानीय तहमा दिएपनि हस्तान्तरण भएका ५ वटा सहकारी संस्थाको कुनै विवरण छैन ।
गाउँपालिकामा सहकारी ऐन बनाएपछि ३ वटा सहकारी दर्ता भएका छन् । ४१ वटा सहकारी संस्थामध्ये अहिले गाउँपालिका भित्र २७ वटा मात्रै संचालन रहेका छन् ।
ग्रामीण क्षेत्रको गरिबि अन्त्य र अर्थतन्त्रको विकास गर्ने सहकारी संस्थाको मुख्य उदेश्य हो । तर स्थानीय तहसँग सहकारी संस्थाको अनुगमन गर्ने दक्ष जनशक्ति नहुँदा सहकारीले उदेश्य अनुरुप काम गर्न नसकेका हुन् ।
सहकारी संस्थाको अनुगमन र पुँजि अभावले सहकारी संस्थाहरुबाट उदेश्य अनुरुप लगानी गर्न सकेका छैनन् । कृषि, चिया, बचत तथा ऋण, बहुउदेश्य, दुग्ध उत्पादक सहकारी संस्थाहरु फाकफोकथुमा संचालनमा रहेका छन् । अर्थतन्त्र विकासको तीन खम्बे अर्थनितिमा सहकारी पनि मानिन्छ । ग्रामीण क्षेत्रमा संचालनमा रहेका सहकारी संचालक र कर्मचारीमा तालिमको अभाव रहेको छ ।
ग्रामीण क्षेत्रमा रहेका सहकारीहरु उत्पादनमा आधारित भएपनि उत्पादित सामग्रीको बजारमा समस्या समेत रहेको छ । ग्रामीण क्षेत्रको अर्थतन्त्रको आधार मानिएपनि सहकारी संस्थाहरुलाई व्यवस्थित गर्ने संघीय सरकारको स्पष्ट नितिको छैन । सरकारी निति अभावसँगै गाउँपालिकामा पर्याप्त र दक्ष जनशक्ति नहुँदा ग्रामीण क्षेत्रका सहकारी संस्थाहरु व्यवस्थित हुन सकेका छैनन् ।