इलाम– इलाम क्षेत्र २ मा सम्पन्न उपनिर्वाचनको मत परिणामले पुराना दल अर्थात् नेकपा ९एमाले० र नेपाली कांग्रेस नै मतदाताको रोजाइमा देखिएका छन् । पहिचानको आन्दोलनलाई पनि सम्मान गरेका मतदाताले नयाँ दललाई भने चौथो स्थानमा सीमित गरिदिएका छन् । पछिल्लो समय कोशी प्रदेशको नामकरणमा देखिएको पहिचानको सवाल यो उनिर्वाचनमा बहसको विषय बनेपनि माग सम्बोधन गर्न नसकेको जानकारको टिप्पणी छ ।
वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली यो उपनिर्वाचनलाई ‘लघु जनमतसंग्रह’को संज्ञा दिन्छन् । ‘यो मतपरिणामलाई हेर्दा राजासहितको शासनको कुराले बल पाएन, पहिचानमा कोशी प्रदेश नामकरण खारेजले पनि बल पाएन, वैकल्पिक शक्तिका रूपमा आएको रास्वपाले पनि खोजेजस्तो ठाउँ पाएन,’ उनले भने, ‘गाउँमा संगठन नहुँदा रास्वपालाई निकै गाह्रो भयो । पुराना दलमै जनताको आस्था र भरोसा देखियो ।’ तर, यो मतले पुराना दल पहिचानको विषयमा चुकेको पनि देखाउँछ ।
‘पहिचान पक्षमा परेको मत हेर्दा जनताका आकांक्षा दलहरूबाट सम्बोधन हुर्नुपर्ने,’ उनले भने, ‘पहिचान, भाषा, धर्म र संस्कृतिको सवाललाई पुराना दलले नजरअन्दाज गर्न नहुने संकेत यो मतपरिणामको हो ।’ २५ वर्षदेखिको आफ्नो विरासत जोगाएको एमालेका जिल्ला सचिव उमेश गुरुङ पनि यो उपनिर्वाचनलाई ‘जनमतसंग्रह’कै झल्को भएको बताउँछन् ।
‘यो जनमतसंग्रह जस्तै हो, हाम्रो पार्टीको अवस्था बुझ्ने र विश्लेषण गर्ने अवसर यो निर्वाचनले दिएको छ,’ गुरुङले भने, ‘एमाले कमजोर छैन भन्ने देखियो तर सांगठनिक रूपमा मात्र सबल भएर हुँदैन, विकाससँग जोडिनुपर्छ भन्ने सन्देश दियो यो मतपरिणामले ।’ उपनिर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेसका जिल्ला सचिव पूर्णप्रसाद गौतम नयाँ दल उपनिर्वाचनमा सहभागीसम्म भएपनि इलाममा कांग्रेस–एमालेकै पक्षमा मत देखिएको बताउँछन् ।
‘नयाँ दल र स्वतन्त्र उम्मेदवार थुप्रै आएपनि मतपरिणामले पुराना दलले काम दिएनन् भन्ने पक्षमा मतदाता छैनन् भन्ने देखियो,’ उनले भने, ‘दलहरू अवश्य सच्चिनुपर्छ भन्नेखालको मत पनि आएको छ ।’ कांग्रेस नसोचेको मतान्तरमा दोस्रो भएको उनले बताए । ‘उम्मेदवारी छनोटप्रक्रिया ढिलो हुँदा र कांग्रेस सबै जनताको घरमा पुग्न नसक्दा जित हासिल हुन नसकेको हो,’ उनले भने, ‘पार्टीको व्यवस्थापकीय पक्ष पनि गतिशील बनाउनुपर्ने देखिएको छ ।’
सामाजिक अगुवा धर्म गौतम दलहरूले योग्य उम्मेदवार नपठाउँदा मतदातामा एक किसिमको वितृष्णा देखिएको बताउँछन् । त्यसकै कारण रास्वपा र पहिचान पक्षधरलाई केही मतदाताले रोजेको उनको भनाइ छ । ‘अहिले पहिचानको मुद्दा उठ्नु स्वभाविक हो । यसलाई कसरी लिने भन्ने फरक हो । एकल पहिचानको पक्षमा आलाकाँचाले बुझेका छन् तर बहुपहिचानको मुद्दा सही हो,’ उनले भने, ‘‘पहिचानको मुद्दा नराम्रो होइन, यसलाई बेवास्ता गर्न हुँदैन, सम्बोधन गर्नुपर्छ ।’
उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ११ हजार ४५७, रास्वपाका मिलन योङहाङ लिम्बूको पाँच हजार ५० र राष्ट्रिय प्रजातन्त्र पार्टीको ४०४ मत आएको छ । क्षेत्र २ मा ६९ हजार ३७४ मत खसेको थियो । पालिका पेजबाट