इलाम । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । इलाम नगरपालिका–७ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा उनले मत हालेका हुन् । मतदानपछि संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै नेम्वाङले जनता नयाँ युग तर्फ बढ्न अग्रसर देखिएको बताए ।
उनले भने ‘ अग्रजले रगत पसिना बगाएर संगठन व्यवस्थापन देखि लिएर हक अधिकार सुनिश्चित गर्नुभएको छ नेपालको संविधानका लागि । यो युग भनेको समाज परिर्वतन र आर्थिक समृद्धिको अभियानको एउटा पाटो हो । हामी त्यो पाटोको सहभागिता हौ ।’ उनले पहिलो पटक मतदानमा सहभागी हुँदा उत्साहित रहेको बताए । नेम्वाङले गाउँगाउँमा पाएको माया, सदभाव र मतदाताको प्रतिक्रिया देख्दा आफ्नो जित सुनिश्चित रहेको बताए ।