Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

जातीय संकीर्णताका कुरा गरेर बहुमत आउँदैन : एमाले अध्यक्ष ओली

जातीय संकीर्णताका कुरा गरेर बहुमत आउँदैन : एमाले अध्यक्ष ओली

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख १२ २०८१


जातीय संकीर्णताका कुरा गरेर बहुमत आउँदैन : एमाले अध्यक्ष ओली

इलाम । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जातका कुराले बहुमत नआउने बताएका छन् । उनले सबै मिलेर मात्र बहुमत सम्भव रहेको बताए । इलामको चुलाचुली गाउँपालिकामा आज (बुधबार) आयोजित चुनावी सभामा बोल्दै ओलीले भने ‘जातीय संकीर्णताका कुरा गरेर बहुमत आउने होइन,’ उनले भने, ‘यो देशमा कुनै जातिको बहुमत छैन, सबै मिलेमात्र बहुमत आउन सक्छ ।’

उनले एमालेजति समावेशी दल अर्को नभएको दाबी पनि गरे । ‘अब हामीले राष्ट्रिय पहिचानका लागि अघि बढ्नुपर्छ, हिंसा फैलाएर, विद्वेष फेलाएर, द्वन्द्व बढाएर देश अघि बढ्दैन,’ उनले भने, ‘सबैको सामथ्र्यलाई एकठाउँमा ल्याएर देश बनाउनुपर्छ ।’ उनले देश बनाउन अहिले इलाम क्षेत्र २ मा सुहाङ नेम्बाङ नै सबैभन्दा सर्वोत्तम उम्मेदवार भएको दाबी पनि गरे ।

‘यो क्षेत्रमा सुहाङलाई जिताएर पठाउनुस्, यहाँको विकासको जिम्मा उहाँले लिनुहुन्छ, सुहाङको जिम्मा म लिन्छु,’ ओलीले भने, ‘यहाँका केही समस्या छन् भने सुहाङलाई भन्नेबित्तिकै समाधान भयो भनेर सोच्नुभए हुन्छ ।’ ओलीले सुदृढ राष्ट्रिय शक्ति निर्माणका लागि आजैबाट लाग्न पनि सबैलाई आग्रह गरे ।

‘हाम्रो पार्टीको तर्फबाट भन्छु, चुनावको बेला कतै कुनै हिंसा नगर्नुहोला । बेथिति नहोस्, प्रतिस्पर्धा स्वस्थ होस्,’ उनले भने, ‘देश हामीले बनाउने हो । देश बनाउन सही उम्मेदवार छान्नुपर्छ । कानुन बनाउने ठाउँमा कानुन जानेको, पढेको मान्छे पठाउनुपर्छ । कानुनमा मास्टर्स गरेको, बुझेको जानेको मान्छे सुहाङ नै हो ।’

उनले मतदान गर्ने बेलामा योग्य उम्मेदवार छान्न र भावना नबग्न पनि आग्रह गरे । ‘समावेशी उम्मेदवार छान्नुपर्छ तर जातीय संकीर्णताबाट होइन,’ उनले भने, ‘बिनाभेदभाव, योग्यता, क्षमता, सक्षमता हेरेर उम्मेदवार चुनौं ।’ इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । गत भदौ २६ मा एमाले नेता सुवासचन्द्र नेम्बाङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार