फिक्कल । इलाम–२ उपनिर्वाचनका लागि १२ बजे रातीबाट मौन अवधि लाग्दैछ । मौन अवधि भन्दा अघि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु जनता माझ पुगेर भोट माग्दैछन् । नेकपा एमालेले मौन अवधि अघि इलामको चुलाचुलीमा चुनावी सभा गर्दैछ । चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा चुनावी सभा गर्ने भएको हो ।
चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले सम्बोधन गर्ने भएका छन् । त्यसैगरी चुनावीसभामा हास्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुती समेत रहनेछ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्र, नेकपा माओवादी र नेपाल परिवार दलको समर्थन रहेको छ ।
नेपाली कांग्रेसले अन्तिम चुनावी सभाको रुपमा मंगलबार चुलाचुली गाउँपालिकामा सम्पन्न गरेको छ । चुनावी सभालाई डा शेखर कोइरालाले सम्बोधन गर्दै काँग्रेस सधैँ पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा भएकाले काँग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध समेत गरेका थिए । कांग्रेसले विभिन्न वडामा पुगेर मत माग्ने कार्य गर्ने जिल्ला उपसभापति खगेन्द्र देवानले जानकारी दिए ।
पहिचान पक्षधरको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमको अन्तिम चुनावी सभा चुलाचुली गाउँपालिका–४ आइतबारेमा हुँदैछ । चुनावी सभामा धरानका नगर प्रमुख हर्क साम्पाङ प्रमुख अतिथि रहनेछन् । चुनावी सभामा ¥यापर लाहुरे, गायिका सुनिता थेगिम, एकदेव लिम्बु, सिद्धान्त खड्का र तृष्णा नेम्वाङले प्रस्तुती समेत दिनेछन् ।
थेगिमलाई धरानका नगर प्रमुख हर्क साम्पाङ, जनजाति संघसंस्थाका साथै नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, आम जनता पार्टी लगायतको सर्मथन रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले देउमाई नगरपालिकाको केन्द्र मंगलबारे बजार र इलाम नगरपालिका–५ विब्ल्याटेमा अन्तिम चुनावी सभा गर्ने उम्मेदवार मिलन लिम्बुले जानकारी दिए । यसअघि रास्वापले आइतबार चुलाचुलीमा चुनावीसभा गरेको थियो ।
सभालाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले बर्षौ देखि झुक्किएका इलामेहरुले यस पटक पुराना दललाई झुक्याउने दावी समेत गरे । अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरु जनताको घरघरमा पुगेर मत माग्दै छन् ।