इलाम । जनता समाजवादी पार्टी (जसपा) र नेपाल समाजवादी पार्टी (नेसपा) ले इलाम क्षेत्र २ को उपनिर्वाचनमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । आउँदो वैशाख १५ मा हुने निर्वाचनमा पहिचानवादीका साझा उम्मेदवार थेगिमलाई समर्थन गर्ने जनाएका हुन् ।
जसपा पहिचानसहितको संघीयताको पक्षमा लामो समयदेखि आन्दोलनरत रहेकाले पहिचान पक्षधर उम्मेदवारलाई नै समर्थन गरेको पार्टीले जनाएको छ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी नेसपाले परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चुंगुलबाट मुलुकलाई निकाल्न थेगिमलाई गरेको समर्थनले इट्टा थप्ने जनाएको छ ।
नेसपाले पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन, समुन्नत समाजवादको लागि थेगिमलाई समर्थन गर्ने निर्णय गरेको उल्लेख गरेको छ । नेकपा ९एमाले० नेता तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि एमालेबाट सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा (एस) बाट जितबहादुर राई, राप्रपाबाट लक्ष्मी गुरुङ र स्वतन्त्र उम्मेदवार प्रेमदीप लिम्बू पनि उम्मेदवार बन्दैछन् ।