इलाम (सन्दकपुर) । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न नेपालमा पहिलो पटक रेडपाण्डा महोत्सव हुने भएको छ । रेडपाण्डा पर्यापर्यटनको प्रवद्र्धन हुँदै आएको इलामको सन्दकपुर गाउँपालिका रेडपाण्डा महोत्सवको आयोजना हुने भएको हो । चैत्र २७ गतेबाट ३० गतेसम्म प्रवद्र्धनात्मक महोत्सवको आयोजना हुने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।
सन्दकपुर गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समिति प्रवद्र्धक र डिभिजन वन कार्यालय, उच्च पहाडी जडिबुटी तथा संरक्षण संस्था र होमस्टे महासंघको सहकार्यमा महोत्सवको आयोजना हुने भएको हो । महोत्सवको तयारीका लागि सन्दकपुर गाउँपालिकामा शुक्रबार समन्वय बैठक सम्पन्न भएको केचना कंचनजंघा पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए ।
समन्वयको बैठकले सन्दकपुर गाउँपालिकामा निर्माण हुँदै गरेको रेडपाण्डा प्रजनन् केन्द्रमा २७ गते उद्घाटन हुने निर्णय भएको छ । बैठकले महोत्सवको समापन सन्दकपुर ५ स्थित जौबारी चोयाटार क्षेत्रमा गर्ने निर्णय गरेको हो । रेडपाण्डाको संरक्षणका लागि रेडपाण्डाको बसोबास भएको क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्दै पदयात्रा गर्ने योजना रहेको सन्दकपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सनम राईले बताए । उनलाई रेडपाण्डा महोत्सवको जनसम्पर्क अधिकारी तोकिएको छ ।
रेडपाण्डाको अवलोकन गर्दै पदयात्रा गर्ने रुट पनि छनौट भएको छ । माईपोखरी टप्पु सन्दकपुर पदमार्ग हुँदै जौबारी चोयाटार सम्म चारदिनसम्म पदयात्रा गरिने योजना रहेको सन्दकपुर ३ का वडाअध्यक्ष लिल बहादूर बुर्जाले बताए । सन्दकपुर १, २ र ३ को सीमा क्षेत्र टप्पुमा उद्घाटन गरिएपछि पर्यटकीय क्षेत्र छिन्टापुसम्म पदयात्रा गरि बास बस्ने कार्यक्रम छ । दोस्रो दिन छिन्टापुबाट कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर डाँडाको आहाल क्षेत्रमा पुगेर बास बस्ने योजना तय भएको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतले बताए ।
तेस्रो दिन रेडपाण्डा पर्यापर्यटनको को काम हुँदै आएको दोबाटे कैयाकट्टा क्षेत्रमा पुगेर पदयात्रीहरुको टोली बस्ने योजना छ । महोत्सवमा अवसरमा हुने पदयात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधिको सहभागि हुनेछन् । पदयात्रामा बढीमा ५० जना सहभागि हुने आयोजक सन्दकपुर गाउँपालिकाले जनाएको छ । दोबाटे क्षेत्रमा रेडपाण्डा संरक्षण, यसको महत्व र पर्यटन प्रवद्र्धनमा भुमिका बिषयमा अन्तरक्रिया समेत हुनेछ । दोबाटे र कैयाकट्टा क्षेत्रमा रेडपाण्डाको दृश्यावलोकन गर्न योजना रहेको छ । अन्तिम दिन चोयाटार क्षेत्रमा रेडपाण्डाको अवलोकन गरि महोत्सवको समापन गर्ने कार्यक्रम रहेको छ । महोत्सवले रेडपाण्डाको महत्वका बारेमा जनचेतना छर्ने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने संरक्षणमा काम गर्दै आएको उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्थाका धनबहादूर खाम्दाकले बताए ।
रेडपाण्डा महोत्सवको अवसरमा नेपाल पर्यटक बोर्डले पनि विराटनगरदेखि सन्दकपुरसम्म पर्यटन व्यवसायी र पत्रकार सहितको टोलीका भ्रमण गराउँदैछ ।