रोङ : इलामको रोङ गाउँपालिका आगामी चैत्र ३० गतेबाट रोङ पर्यटन तथा कृषि महोत्सव हुने भएको छ । पर्यटन प्रर्वद्धन तथा कृषि क्षेत्रको विकासका निम्ति महोत्सव संचालन गर्न लागिएको हो । आयोजक रोङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको हो ।
स्थानीय उत्पादनको बजारीकरणका साथै धार्मिक र पर्यापर्यटनको प्रर्वद्धनका लागि आगामी बैशाख ६ गतेसम्म महोत्सव संचालन रहनेछ । महोत्सवमा राष्ट्रिय कलाकार याम बराल, मेलिना राई विल्सन विक्रम राई लगायतको प्रस्तुती रहने आयोजक समितिका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए । उनले झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङबाट महोत्सवमा सहभागी हुने अपेक्षा राखिएको बताए ।
महोत्सव संचालनका लागि आयोजकले २२ लाख २५ हजार खर्च हुने अनुमान गरेको छ । उनले महोत्सवस्थलको तयारी तिव्र रुपमा हुँदै गरेको बताए । त्यसैगरी रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले रोङ गाउँपालिकाको अर्गानिक उत्पादन महोत्सवको आकर्षणको रुपमा रहने बताइन् । उनले गाउँपालिका गुन्द्रुक, बेसार, सिस्नो लगायतका स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रर्वद्धनका लागि महोत्सव सहायक हुने बताइन् ।
उनले नेपालको लोपोन्मुख लेप्चा जातिको बसोबास भएको रोङ गाउँपालिकामा उनीहरुको कला संस्कृति समेत आर्कषणको पाटो रहने बताइन् । रोङ गाउँपालिका–३ का वडाध्यक्ष मात्रिका बरालले रोङ गाउँपालिका धार्मिक पर्यटनका लागि प्रशिद्ध रहेकाले महोत्सवले थप पर्यटकहरु भित्र्याउन सहयोग पुग्ने बताए ।
उनले पाथीभरा मन्दिर रहेको गाउँपालिकामा कृषिको प्रचुर सम्भावना भएकाले प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना भएको बताए । उनले महोत्सवको मार्फतबाट लाखौ पर्यटकहरु रोङ भित्रिने बताए । रोङ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवलाई गाउँपालिकाले संरक्षकत्व प्रदान गरेको छ । महोत्सवलाई १ लाख भन्दा बढिले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।