इलाम । प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएसँगै आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका प्रतिस्पर्धीको टुंगो लागेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकबाट कांग्रेसले इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलामबाट गत ७ चैत र बझाङबाट ५ चैतमा आकांक्षीहरूको नाम सिफारिस भएको थियो । बझाङको उम्मेदवार चयन गर्न कांग्रेसमा समस्या थिएन । गत वर्ष ५ असारमा सडक दुर्घटना परी ज्यान गुमाएका सांसद पृथ्वीबहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाउन कांग्रेस केन्द्रीय नेतृत्व सहमत थियो । तर इलाम–२ को उम्मेदवार टुंगो लगाउन कांग्रेसले लगातार चार दिन बैठक राख्नु पर्यो ।
अन्ततः सभापति देउवा निकट खड्काले नै टिकट पाएका छन् । खड्काले उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने उम्मेदवारहरू यसअघि नै तय भइसकेका छन् । नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जीतबहादुर राई र पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्रसिं थेगिम स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रने घोषणा गरिसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार चुनावी सभा गरेर लक्ष्मी गुरुङलाई उम्मेदवार घोषणा गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेन सहित नेताहरुले चुनावी सभालाई सम्बोधन गरेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत आफै इलाम पुगेर प्रेमकुमार थाम्सुहाङ ९प्रेमदीप० लाई उम्मेदवार तय गरेका थिए । शनिबार मनोनयनको कार्यतालिका रहेकाले बाँकी साना दल र स्वतन्त्र उम्मेदवारहरुको टुंगो लाग्नेछ । तर विगतको राजनीतिक शक्ति सन्तुलनका आधारमा मुख्य प्रतिस्पर्धी भने टुंगो लागेको छ ।दलहरूले उपनिर्वाचनको उम्मेदवार चयन गर्दा संगठनात्मक पकड, मतदाता रुझान, युवा र पहिचान जस्ता आधार मानेको देखिन्छ ।
एमालेः सहानुभूति र युवा
एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको यो क्षेत्रको बलियो शक्ति पनि एमाले नै हो । २०४८ साल यताको आमनिर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले एकपटक मात्रै जितेको छ । कांग्रेसका प्रभावशाली नेता कुलबहादुर गुरुङले २०५१ सालको मध्यावधि जितेका थिए । २०४८ सालमा एमालेबाट जितेका मणिकुमार लिम्बुलाई हराएर गुरुङले मध्यावधि जितेपछि कांग्रेसले सधैं हार्दै आएको छ ।
ठीक विपरीत २०५६ सालको चुनावपछि सुवास नेम्वाङले यो क्षेत्रबाट कहिल्यै हारेनन् । पार्टी विभाजनको चोट, प्रतिनिधिसभा विघटन गर्ने कमजोर राजनीतिक एजेण्डा अनि पाँच दलीय गठबन्धनविरुद्ध एमालेले भाग लिएको गत वर्षको चुनावमा समेत नेम्वाङले जितेका थिए ।पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका डम्बरबहादुर खड्काविरुद्ध ११४ मतको झिनो अन्तर नेम्वाङले निकालेका थिए । ३० हजार २० मत ल्याएर पाँचौं पटक लगातार चुनाव जितेका नेम्वाङको गत २६ भदौमा हृदयघातबाट निधन भयो ।
सुवासको निधन भएपछि रिक्त स्थानमा उनकै कान्छो छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको छ । गत ११ भदौमा उम्मेदवार टुंगो लगाउँदै गर्दा एमालेले सुवास नेम्वाङप्रतिको सहानुभूति, पार्टीको संगठनात्मक अवस्था, युवाप्रति मतदाताको रुझान र इलामको समुदायगत अवस्था लगायत आधार मानेको थियो । गत वर्षको आमचुनावमा पार्टीगत ९समानुपातिक तर्फ० मतमा एमाले सबभन्दा अगाडि छ । एमालेले २६ हजार ५६३ मत पाउँदा दोस्रोमा रहेको कांग्रेसले २२ हजार ३३ मत ल्याएको थियो । तेस्रोमा माओवादी केन्द्रले मत ९५ हजार १५३ मत० र चौथोमा रास्वपाले ४ हजार ६८६ मत पाएको थियो । अरु दलहरूको उल्लेख्य मत छैन ।
माओवादीको समर्थन समेत पाएकाले एमालेका सुहाङ अब बलिया बन्न गएका छन् । जिल्ला कमिटीबाट एकल उम्मेदवार सिफारिस भएका धीरेन्द्र शर्मालाई रोकेर माओवादीले सुहाङलाई समर्थन गर्ने निर्णय गरेको छ । शर्माले २०७४ को आमचुनावमा इलाम–२ ९ख० बाट वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य जितेका थिए ।
कांग्रेसः निकटको मत र अनुभव
एमालेले उम्मेदवार टुंग्याएको १२ दिनपछि कांग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउनुमा प्रमुख आधार निकट विगतकै प्रतिस्पर्धालाई मुख्य आधार बनाएको छ । कांग्रेसले लगातार चुनाव हार्ने गरेको यो क्षेत्रमा खड्काले गत वर्षको चुनावमा नेम्वाङलाई कडा चुनौती दिएका थिए । यसपटक पार्टी मत जोगाउँदा खड्काले चुनाव जित्ने आकलन कांग्रेस नेताहरुको छ । ३५ वर्ष नकटेकालाई प्रमुख प्रतिस्पर्धी दलहरुले उम्मेदवार बनाउँदा कांग्रेसले ५० वर्षका खड्कालाई उम्मेदवार बनाउनुमा अनुभव र संगठनको पडकलाई अर्को आधार मानेका छन् ।
२०७८ को जिल्ला अधिवेशनमा खड्काले भेषराज आचार्यलाई हराएर जिल्ला सभापति जितेका थिए । पार्टी संस्थापन प्यानलमा उभिएर जिल्ला सभापति जितेपछि प्रतिनिधिसभाको टिकट पनि हात पारेका थिए । कांग्रेसका एक नेताका अनुसार गत वर्ष चुनावमा टिकट पाउँदा देउवाले नै यो क्षेत्र आफ्नो कोटामा राखेका थिए । ‘यो क्षेत्रको टिकट मेरो भागमा परेको हो, उपनिर्वाचनमा डम्बरलाई अवसर दिनुपर्छ भन्ने शेरबहादुर देउवाको तर्कलाई अरु नेताले काट्न सकेनन्’, ती नेता भन्छन् ।
तीन दशक लामो राजनीतिक अनुभव रहेका खड्का २०७४ को चुनावमा भने प्रदेशसभा सदस्यको उम्मेदवार थिए । इलाम–२ (क) बाट कांग्रेसको उम्मेदवार बनेका खड्कालाई एमालेका राम रानाले हराएका थिए । २०५१ मा तरुण दलको जिल्ला सभापति, २०५८ मा तरुण दलको केन्द्रीय सदस्य, २०६४ मा केन्द्रीय उपाध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका खड्का २०६७ मा जिल्ला कोषाध्यक्ष र २०७८ मा जिल्ला सभापति बनेका थिए । निर्माण व्यावसायी समेत रहेका खड्कासँग लामै राजनीतिक र चुनावी अनुभव लिइसकेकाले पनि टिकट दिइएको नेताहरु बताउँछन् । यसबाहेक उनी खयआर्य समुदायबाट एक्लो उम्मेदवार हुनु सकारात्मक पक्ष हो ।
रास्वपाः रैथाने युवा र जनजाति
टिकट वितरणको आधार तयार पार्न अरू दलले जत्तिकै मेहनत रास्वपाले पनि गरेको छ । पार्टी गठनको छोटो अवधिमै अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिमा उदाएका रास्वपाले इलाम–२ को उपनिर्वाचनलाई जनतामा पार्टीको आकर्षण नघटेको पुष्टि गर्न खोजेको छ ।
माओवादी पृष्ठभूमिका मिलन लिम्बुलाई फकाएर आफ्नो उम्मेदवार बनाउनुको पछाडि रास्वपाले इलाममा पुगेर गरेको सर्वेक्षण थियो । एक पदाधिकारीका अनुसार, पार्टीले नै परिचालन गरेको टीमले गरेको सर्वेक्षणले इलाममा चुनाव जित्न जनजाति र युवा चाहिने निष्कर्ष आएको थियो । त्यही सर्वेक्षणलाई आधार मानेर रास्वपाले गत १७ चैतमा सभाको आयोजना गरी मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ । उम्मेदवार घोषणा गर्न सरकारका उपप्रधान एवं गृहमन्त्री रहेका सभापति रवि लामिछाने सहित शीर्ष नेताहरु इलाम पुगेका थिए ।
जबकी गत वर्षको चुनावमा भने रास्वपाबाट प्रकाश सापकोटा उम्मेदवार थिए, र १३८० मत मात्र ल्याउँदा जमानत जोगाउन सकेका थिएनन् । तर यसपटक सापकोटा नदिएर लिम्बु युवाको खोजी गर्नुमा पत्रकार पृष्ठभूमि भएकाले मिलनको आक्रामक प्रचारसँगै जातीय पृष्ठभूमि समेत हेरियो ।
यद्यपि इलाममा लिम्बु समुदायको जनसंख्या दोस्रोमा छ । २ लाख ७९ हजार ५३४ जनसंख्या रहेको इलाममा राईको बाहुल्य छ । जनगणना–२०७८ अनुसार, इलाममा ६८ हजार ३३९ जना अर्थात् २४।४४ प्रतिशत जनसंख्या राई छन् । दोस्रोमा रहेको लिम्बुको जनसंख्या ४५ हजार ७ ९१६।१० प्रतिशत० छ । तेस्रोमा क्षेत्री ३८,८५६ ९१३।९० प्रतिशत०, चौथोमा बाहुन ३५ हजार ५६९ ९१२।७२ प्रतिशत०, पाँचौमा तामाङ १९ हजार ७४६ ९७।०६ प्रतिशत० र छैटौंमा मगरको जनसंख्या १४ हजार ५५१ ९५।२० प्रतिशत० छ । यी बाहेक दलित सहित अरु अन्य समुदायको जनसंख्या ५७ हजार ४६६ छ ।
रास्वपाले लिम्बुलाई नै टिकट दिनुको अर्को कारण भने यो क्षेत्रबाट अहिलेसम्म खसआर्यले प्रतिनिधि सभाको चुनाव नजित्नु पनि देखिन्छ । सभापति लामिछानेको आकर्षण र स्थानीय मनोविज्ञानका आधारमा चुनाव जित्न नीति अन्तर्गत लिम्बुलाई उम्मेदवार बनाएको छ ।
पहिचान पक्षधरः सामाजिक अभियन्ता र एजेण्डा
गत वर्षको चुनावीको नतिजा, इलामको सामाजिक बनोट र कोशी प्रदेशमा चलिरहेको आन्दोलनलाई समेत आधार मान्ने हो भने डकेन्द्रसिं थेगिम पनि प्रतिस्पर्धी उम्मेदवार बन्ने देखिन्छ ।
थेगिमलाई जनता समाजवादी पार्टी ९जसपा० सहित ४१ वटा राजनीतिक तथा सामाजिक संस्थाहरुले साझा उम्मेदवार बनाएको छ । प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्टि जनाएर गत वर्षदेखि आन्दोलित यी संस्थाहरूले डकेन्द्रसिंहलाई उम्मेदवार बनाउनुमा उनी उक्त क्षेत्रमा चिनिएको अनुहार हुनु हो ।
२२ वर्ष शिक्षण र १० वर्ष स्रोत व्यक्ति रहेका डकेन्द्रसिंह २०५८ सालदेखि लगातार सामाजिक तथा धार्मिक अभियानमा जोडिएका थिए । शिक्षक रहँदादेखि नै एमालेसँगको निकटता रहेकाले पनि उनलाई साझा उम्मेदवारका रुपमा अगाडि बढाउन पहिचान पक्षधर तयार भए ।
थेगिम २०६० चैतदेखि किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय समिति र महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्षबाट थिए । उनले बुधबार मात्रै दुवै पदबाट राजीनामा घोषणा गरे । यो क्षेत्रको धार्मिक मत र पहिचान पक्षधरका अभियान्ताहरूको स्वीकारोक्ति रहेकाले उनलाई उम्मेदवार बनाइएको छ । धरानका मेयर हर्क साम्पाङलाई प्रमुख वक्ता बनाएर थेगिमले बुधबार उम्मेदवारी घोषणा गरे ।
उनको उम्मेदवारीलाई आधार मानिने अर्को आधार भनेको इलामको धार्मिक अवस्थिति हो । किनकि जातिगत सँगै धार्मिक रुपले पनि इलाम मिश्रित बसोबास रहेको जिल्ला हो । देशभर ८१।३ प्रतिशत हिन्दूको जनसंख्या हुँदा इलाममा ४४।१९ प्रतिशत ९एक २३ हजार ५३३ जना० मात्र हिन्दू छन् । किराँत धर्म मान्नेहरु ३६।२० प्रतिशत ९एक लाख १ हजार १९२ जना० छन् भने बौद्ध धर्म मान्नेहरु १६।६८ प्रतिशत ९४४ हजार ६२७ जना० छन् ।
धार्मिक मत पाउन हरेकजसो चुनावमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा चल्नेगर्छ । यो उपनिर्वाचनमा मत बढाउन रवि लामिछानेदेखि सिके राउतसम्म किराँत धर्मालम्बीहरूले माङसेवुङ भनेर पुज्ने लारुम्बा पुगिसक्नुले यो क्षेत्रको चुनावी आँकलनमा बल पुग्छ भने थेगिमको उम्मेदवारीको आधार अनुमान लगाउन सकिन्छ ।
अन्यः जनजाति युवा र अनुभवी
एकीकृत समाजवादी, राप्रपा, जनमत लगायतले उम्मेदवार टुंग्याउँदा पनि युवा र पहिचानको एजेण्डालाई ध्यान दिएका छन् । एकीकृत समाजवादीले यसअघि जनप्रतिनिधि पृष्ठभूमिका जीतबहादुर राईलाई टिकट दिनुमा उनको स्थानीय पकडलाई आधार मानेको छ । राई समुदायबाट एक्लो उम्मेदवार रहेका उनी एमालेमा हुँदा जिल्ला तहका नेता थिए । एमालेकै तर्फबाट उम्मेदवार बनेर २०७४ को स्थानीय चुनावमा माइगोजमाइ गाउँपालिकाको अध्यक्ष जितेका राई अहिले एकीकृत समाजवादीमा छन् । तिनै राईलाई उम्मेदवार बनाउँदा आकर्षण मत ल्याउन सकिने अनुमान एकीकृत समाजवादीले गरेको छ । राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउनुमा युवा जनजातिलाई आधार मानेको छ । संगठनात्मक उपस्थिति कमजोर रहेको राप्रपाले युवा उम्मेदवार मतदाताको रोजाइमा रहेकाले गुरुङलाई टिकट दिएको छ ।
आफ्नो उपस्थिति पहाडी क्षेत्रमा बढाउने अभियानमा जुटेका जनमत पार्टीले यो उपनिर्वाचनमा उम्मेदवारी तय गर्दा पहिचानको एजेण्डालाई प्राथमिकतामा राखेको छ । पहिलेबाटै सामाजिक अभियानमा जोडिदै आएका प्रेमकुमार थाम्सुहाङलाई टिकट दिएर जनमत पार्टीले पहिचानको एजेण्डा प्राथमिकतामा राखेको छ ।