इलाम । ६७ औँ सहकारी दिवसका अवसरमा इलाममा १३ वटा सहकारीलाई सम्मान गरिएको छ । जिल्ला सहकारी संघले आयोजना गरेको ६७ औँ सहकारी दिवसको कार्यक्रममा प्रभातफेरी पनि सम्पन्न भएको छ । इलामको रत्नचौकबाट शुरु भएको प्रभातफेरी गौतमवुद्ध सभागृहमा पुगेर सभामा परिणत भएको थियो । जिल्ला सहकारी संघका अध्यक्ष लिला थापाको अध्यक्षता इलाम नगर प्रमुख केदार थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहकारी विज्ञ प्रकाशराज पोखरेलले सहकारी क्षेत्रको समस्या र समाधानका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा इलाम जिल्लामा क्रियासिल सहकारीमध्येबाट उत्कृष्ट काम गर्ने १३ वटा सहकारीलाई सम्मान गरिएको थियो ।
पुरस्कृत हुने सहकारीमा सुर्योदय नगरपालिकाको महिला सिर्जना बहुउदेश्य सहकारी संस्था, रोङ गाउँपालिकाको पानकोला बचत तथा ऋण सहकारी संस्था, माईजोगमाई गाउँपालिकाको नवतरत्न महिला कृषि सहकारी संस्था, फाकफोकथुम गाउँपालिकाको थामडाँडा पशुपालन सहकारी संस्था र माई नगरपालिकाको दानाबारी कृषि सहकारी संस्था रहेको छ ।
त्यसैगरि इलाम नगरपालिकाको सुनगाभा बचत तथा ऋण सहकारी संस्था, सन्दकपुर गाउँपालिकाको जमुना कृषि सहकारी संस्था, देउमाई नगरपालिकाको देउमाई बहुउदेश्य सहकारी संस्था, इलाम नगरपालिकाको जागृति बचत तथा ऋण सहकारी संस्था, धारापानी दुग्ध सहकारी संस्था, सूर्योदय नगरपालिकाको रत्नचौक चिया उत्पादक सहकारी संस्था, चुलाचुली गाउँपालिकाको पाथिभरा बचत तथा ऋण सहकारी संस्था र माङ्सेबुङ गाउँपालिकाको महिला बहुउदेश्य सहकारी संस्था रहेका छन् ।


















