इलाम । बेरोजगार युवाहरुलाई बिराटनगर—इटहरी औद्योगिक क्षेत्रमा रोजगारी तथा उद्यमशीलताका अवसरहरुसँग जोड्ने गरी कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत सुरु भएको स्टेप अप परियोजनाको श्रम संसार सूचना प्रणालीमा इलाम नगरपालिका आवद्ध भएको छ ।
परियोजनाले बेरोजगार युवा, विशेष गरी महिला, वैदेशिक रोजगारीबाट फर्किएका र कोभिड १९ को कारण बेरोजगार भएका व्यक्तिहरुलाई रोजगारी तथा उद्यमशीलताको माध्यमबाट आयस्तर बृद्धिमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
नेपालको संविधानले रोजगारीलाई मौलिक हकको रुपमा स्थापित गरेको हुँदा संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको साझा सूचीअन्तर्गत रोजगार र बेरोजगारहरुको तथ्याङ्क संकलन तथा प्रशोधन गर्न श्रम बजार सूचना प्रणालीको परिकल्पना श्रम संसारमा गरिएकोले यस प्रणालीमार्फत रोजगार प्राप्तिको हक सुनिश्चित गर्न गराउनमा सहजीकरण गरिने भएकाे हाे ।
स्थानीय श्रम बजारमा रहेका रोजगारी र उद्यमशीलताका अवसरहरुको सूचना सहजै उपलब्ध गराउने उदेश्यका साथ निर्माण गरिएको यस सूचना प्रणालीमा रोजगार खोजकर्ता, रोजगार सेवा प्रदायक, रोजगारदाता तथा श्रम बजारका अन्य सरोकारवाला निकायहरु समेत आवद्ध रहने हुँदा यसबाट श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने इलाम नगरपालिकाले जनाएकाे छ ।
श्रम संसार, नेपाल सरकारकै मातहतमा रहेको सूचना प्रणाली भएकोले यसमा प्रविष्ट गरिएका तथ्याङ्कहरु सुरक्षित र भरपर्दो रहेकाे छ। एकै ठाउँबाट श्रमबजार सम्बन्धी सूचना प्रवाह हुने भएकोले रोजगार खोजकर्ता, रोजगारदाता, तालिम सेवा प्रदायक लगायत श्रम बजारसँग सम्बद्ध व्यक्ति तथा संघसंस्थाका लागि उपयोगी हुने देखिएकाे छ ।
यस श्रम संसार सूचना प्रणालीको आवेदन प्रक्रिया तथा दर्ता निशुल्क रहेको साथै श्रम संसार सम्बन्धमा थप जानकारी आवश्यक भएमा इलाम नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने र shramsansar.koshi.gov.np / shramsansar app समेत हेर्न सकिने इलाम नगरपालिकाका प्रमुख श्री केदार थापाले जानकारी दिए ।