Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

सूर्योदय नगरपालिकामा एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १८ २०८०


सूर्योदय नगरपालिकामा एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

फिक्कल । इलामको सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँचवटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । बाख्रा पालन, बंगुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरूलाई दुई तहका सरकारले प्रतिएकल महिला ३५ हजार रुपैयाँका दरले बीउ पुँजी उपलब्ध गराएको छ ।

मूल समिति ‘प्रगतिशील एकल महिला उद्यमशील समूह’ लाई १० लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको नगरप्रमुख रणबहादुर राईले बताए । ‘एकल महिलालाई व्यवसायमा जोड्न र बचत गर्ने संस्कार विकास गर्न बीउ पुँजी दिएका हौँ,’ नगरप्रमुख राईले भने, ‘एकल महिलाहरू समूहमा आबद्ध हुनुहुन्छ । दैनिक वा मासिक बचत संकलन गर्नुहुन्छ । उहाँहरूको इच्छाबमोजिम उद्यमशील तालिम दिएर व्यवसायमा जोड्न बीउ पुँजीको कार्यक्रम ल्याएका हौँ । ‘

सूर्योदय–८, मालुमकी प्रमिला थापाले ब्युटीपार्लर सञ्चालन गर्न बीउ पुँजी पाएपछि व्यवसायमा लगानी बढाउने बताइन् । ‘समूहगत रुपमा लगानी वृद्धि गरेर व्यवसायलाई जीवनयापनको माध्ययम बनाउने लक्ष्य छ,’ उनले भनिन्, ‘सामान्य तरिकाले पसल गरिरहे पनि लगानी बढाउन नसक्दा व्यावसायिक बन्न सकिएको थिएन । नगरपालिकाबाट तालिम पनि पाएका छौँ । पैसा पनि पाइयो, अब यसैबाट सफल बन्नुछ ।’

तीन वर्षपछि बीउ पुँजीका रुपमा लिइएको रु ३५ हजार भने नगरपालिकालाई फिर्ता गर्नुपर्ने प्रमुख राईले बताए । ‘उक्त रकम तीन वर्षमा नगरपालिकालाई फिर्ता गर्नुपर्ने हुन्छ । सो रकम हामी अन्य एकल महिलालाई हस्तान्तरण गर्दै जान्छौँ । बीचमा एकल महिलाले विवाह गरेमा पनि रकम नगरपालिकामा फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘यो रकमले सामूहिक खेती गर्न, व्यवसाय गर्न र नियमित बचत गर्न सहयोग पुर्‍याउँछ ।’

एकल महिलाले एक्लोपनको महसुस गर्नु नपरोस्, आत्मनिर्भर बन्न सकून् भनेर व्यवसायमा आकर्षित गराइएको उनी बताउँछन् । उनका अनुसार पालिकाभरि करिब एक हजार एकल महिला रहेका छन् । ६ सयभन्दा बढी एकल महिलाको स्वास्थ्य बीमा भएको छ । सामूहिक रूपमा एकताबद्ध हुँदा व्यावसायिक सफलता मिल्ने ठानेर यो अभियान सुरु गरिएको हो ।

‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत केही सागसब्जी खेतीमा पनि आबद्ध भएका छन् । नगरपालिकाका १४ वटै वडामा कार्यक्रम पुर्‍याउने पालिकाको लक्ष्य छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार