जङ्गबहादुरको सालिक अनावरण समारोह त्यस समयको निकै ठूलो समारोह थियो । इसं १९२७ मा लेखिएको नेपाल एन्ड नेप्लिज पुस्तकमा लेखक लेफ्टिनेन्ट कर्नेल गिम्लेट ले यस समारोहको सविस्तार वर्णन गरेका छन् । यस भव्य समारोहका उनि प्रत्यक्षदर्शि थिए । तसर्थ पनि उनको वर्णन पढ्दा रोमाञ्चित हुनु स्वभाविकै हो ।
बिसं १९४१ चैत्र १४ गते अंग्रेज सरकारको निमन्त्रणामा तीन जनरलहरू खड्क शम्शेर, केदार नरसिंह र धोज्नर सिंह (रणोद्वीपका धर्मपुत्र) रावलपिण्डीको लागी निस्केका थिए । भने यता सुन्धारा र भद्रकालीको बिचमा टुडिखेलको पश्चिम ठूलो फराकिलो सडक बनाएर बिचको चोकमा जङ्गबहादुरको सालिक स्थापना गरिएको थियो । जङ्गबहादुर जीवित हुदै यो सडकको परिकल्पना गरिसकेको हुँदा उनका छोरा कमाण्डर इन चिफ जीतजंगले सो जङ्गबहादुरको सपना मात्र पुरा गरेनन्, सोही चोकको बिचमा जंगकै सालिक राखिदिए ।
बिसं १९३८ मा लण्डनका प्रख्यात मुर्तिकार थोमस ब्रकले तैयार बनाएको यो मुर्ति नेपालसम्म ल्याउनु निकै कठिन कार्य थियो । पानीजहाजबाट कलकत्ता र त्यहाँबाट रेलमा बेतिया त्यसपछि लरि तथा मानिसलाई बोकाएर झण्डै ६ महिना लगाएर काठमाडौ पुर्याइएको थियो । रणद्वीप सिंहको सालिक आइपुगेपछि छिटो छिटो दुवै सालिक स्थापना गर्न थालियो । निर्माता कम्पनीले करिव नेपाली ७०,००० रूपैयामा मुर्ति तैयार गरेर काठमाडौ सम्म पुर्याउने जिम्मा लिएको थियो ।
काठमाडौमा मात्र ६०,००० जनसंख्या भएको भए पनि पाटन भक्तपुर समेतको जनताको भिडले टुडिखेल वरपर सेना र जनता गरि करिव १२,००० जम्मा भएका थिए । राजा पृथ्वी वीर विक्रम (९ वर्षका) ले आफ्नो सन्देश प्रधानमन्त्री रणोद्वीपलाई दिए, प्रधानमन्त्रीले त्यो सन्देश कमाण्डर इन चिफलाई पढ्न दिएका थिए । जङ्गबहादुरको बहादुरीको प्रशंसाले भरिएको सो भाषण आधा घण्टा लामो थियो ।
त्यसपछि प्रधानमन्त्रीको भाषण पछि कपडाले ढाकिएको सो सालिकलाई बालक राजा पृथ्वी वीर बिक्रमले बाँधिएको डोरि तानेर सबैको लागी खोलि दिएका थिए । दुइ वर्ष देखि सालिक हेर्न आतुर जनताको प्रतिक्षा बल्ल पुरा भएको थियो ।
पुस्तकमा लेखिएको अनुसार यो मुर्तिको लागी जङ्गबहादुरको तस्विर बिसं १९३१ माघमा बम्बईमा खिचिएको थियो । जसले गर्दा यो स्पष्ट हुन्छ कि जङ्गबहादुरले आफ्नो घोडचढी सालिक बनाउन आफैले लगाएका थिए ।
बिसं १९३१ मा जङ्गबहादुर दोश्रो पटक बेलायतको भ्रमणमा जान लागेका थिए । जहाजमा सामान राखिसकेको भए तापनि अन्तिम दिन बजार डुल्न जाँदा घोडाबाट लडेर चोट लागेपछि भ्रमण रद्ध गरिएको थियो । जङ्ग त जान चाहेका थिए तर बैद्धय तथा रानीहरूले जान दिएनन् । राणा देखि सधै उग्र रहेका राजा महेन्द्रलाई रानी एलिजावेथको नेपाल भ्रमणको तालिका प्राप्त हुनु राणाहरुको बिच सडकमा भएको सबै सालिकहरु हटाउने बहाना भयो ।
मौका पर्खिरहेका महेन्द्रले सबै सालिकहरु हटाउन लगाए । यसरी हटाउने क्रममा जङ्गको सालिकमा रहेको तरवारको टुप्पो भाच्चियो । तर यो बनाउने चासो दिईएन । अहिले त संरक्षणको अभावले अझ टुटफुट भएको छ ।