इलाम । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी वर्ष २०८१ माघ ११ गते फिल्म रिलिज गर्ने तय भएको निर्माता प्रेम श्रेष्ठले जानकारी दिए । फिल्ममा अञ्जिला स्वयंको मुख्य भूमिका छ ।
उनीसँगै दयाहाङ राई, मिरूना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायत कलकारको पनि अभिनय छ । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठको पनि प्रमुख भूमिका छ ।
अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइएको छ । १४ वर्षदेखि अञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दीक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एञ्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए ।
अञ्जिलाकै गृह क्षेत्र सूर्योदय नगरपालिकाको आइतबारे सहित झापा र काठमाडौंमा फिल्म खिचिएको छ । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।