इलाम । इलामका ग्रामीण पर्यटकीय क्षेत्रमा संचालनमा आएका होमस्टेमा पर्यटकहरुको आकर्षण बढेको छ । होमस्टेमा तयार हुने अर्गानीक खाना र बसाईमा आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित हुँदा इलामका ग्रामीण पर्यटकीयस्थलमा पर्यटकहरुको चहलपहल बढेको हो ।
सन्दकपुर ४ को दोबाटे क्षेत्रमा वन्यजन्तु र चराचुरुङ्गी अध्ययनका लागि युरोपबाट पर्यटक पुग्ने गरेका छन् । दोबाटे पुग्ने बाह्य पर्यटकहरुको बासस्थान होमस्टेमा हुन्छ । १० वर्ष अघिदेखि आन्तरिक पर्यटक पुग्दै आएको दोबाटेमा बाह्य पर्यटक पनि पुग्न थालेपछि होमस्टे व्यवसाय फस्टाएको छ ।
रेडपाण्डा पर्यापर्याटनको प्रवद्र्धन हुँदै आएको सन्दकपुर ५ को इङ्ला क्षेत्रमा होमस्टे संचालनले ग्रामीण क्षेत्रमा स्वररोजगार सिर्जना भएको छ । रेडपाण्डा अध्ययन लागि पुग्ने पर्यटकहरुको इङ्ला बसाइले स्थानीयको आयआर्जनमा पनि सहयोग पुगेको हो ।
पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकहरु पुग्न थालेपछि इलामका ग्रामीण क्षेत्रमा होमस्टे संचालन हुन थालेका हुन् । ग्रामीण पर्यटकीयस्थलमा पर्यटकहरु पुग्ने क्रम बढेपछि सन्दकपुर गाउँपालिकाले होमस्टे व्यवसाय अझ व्यवस्थित बनाउन सहयोग गर्दै आएको छ ।
पर्यटकको आवागमन वृद्धि भएपछि स्थानीय उत्पादनमा आधारित गुणस्तरीय परिकार बनाउन होमस्टे संचालकलाई तालिम दिइदैँ आएको हो । स्वरोजगार भइ आयआर्जन गर्ने उदेश्यले स्थापना भएका होमस्टेमा गुणस्तरीय परिकार बनाउन तालिम प्रदान गरिँदै आएको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताउनुभयो ।
जिल्लाको पर्यटकीय क्षेत्र अन्तुबाट शुरु भएको होमस्टे कार्यक्रम अहिले इलामका ग्रामीण पर्यटकीयस्थलमा विस्तार भएको छ । स्थापना भएका होमस्टेहरुको प्रवद्र्धन र विस्तारमा प्रदेश सरकारको घरेलु तथा साना उद्योग कार्यालय पनि तालिम प्रदान गर्दै आएको छ ।
इलामको अन्तु, जिर्मले, माईपोखरी, दोबाटे, जमुना, इलाम नगरपालिका, पानिटार लगायतका पर्यटकीयस्थलमा हामेस्टे संचालनमा रहेका छन् ।