Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने कोशीका खेलाडी र प्रशिक्षक सम्मानित

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने कोशीका खेलाडी र प्रशिक्षक सम्मानित

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १३ २०८०


अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने कोशीका खेलाडी र प्रशिक्षक सम्मानित

इलाम । खेलकुद विकास बोर्ड कोशी प्रदेशले अन्तर्राष्ट्रिय खेलकुदमा पदक हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । धनकुटामा आयोजित कार्यक्रममा फुटबल, कबड्डी, तेक्वान्दो र कराँतेका खेलाडी–प्रशिक्षक गरी १४ जनालाई नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा चीनमा सम्पन्न १९ औँ एशियाली खेलकुदमा कवड्डीमा कास्य पदक हासिल गर्न सफल कप्तान मेनुका राजवंशीसहित इशा राई, अनुजा कुलुङ राई, प्रशिक्षक पार्वती राई र १९ औँ एशियाली खेलकुदमा रजत पदक दिलाएका कराँतेका प्रशिक्षक कुशल श्रेष्ठ रहेका छन् । उनीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नगद २ लाखसहित सम्मान गरेका थिए ।

बोर्डले मलेसियामा सम्पन्न तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्ण र रजत पदक विजेता सजिना तामाङलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । त्यस्तै साउदी अरबमा सम्पन्न वाफ वुमन्स च्याम्पियन्सीप फुटबलमा उपविजेता नेपाली टोलीमा रहेका कोशी प्रदेशका खेलाडीसहित प्रशिक्षक गरी ८ जनालाई सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा सहायक प्रशिक्षक श्याम मानन्धर, कप्तान अञ्जिला तुम्वापो सुब्बा, सविता राना मगर, अमिशा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत र प्रिती राई रहेका छन् । जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सम्मानपछि कार्यक्रममा बोल्दै मुख्यमन्त्री केदार कार्कीले प्रदेशबाट प्रतिनिधित्व गर्दै मुलुकको नाम उच्च पार्न खेलाडी र प्रशिक्षकको भूमिका अहम् रहेको बताए ।

उनले आगामी दिनमा खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए । कार्यक्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले सीमित कर्मचारीबाट धेरै समय बोर्ड धान्न समस्या हुने बताउँदै प्रदेश सरकार समक्ष कर्मचारी नियुक्त गर्न माग गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार