Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा कफि खेतीमा किसानको आकर्षण (तस्बिरहरु) 

इलाममा कफि खेतीमा किसानको आकर्षण (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • बिहिबार, चैत्र १ २०८०


इलाममा कफि खेतीमा किसानको आकर्षण (तस्बिरहरु) 
इलाम । चियाको राजधानी भनेर चिनिने इलाममा कफि खेती पनि विस्तार हुन थालेको छ । यहाँका कृषक समूहगत रूपमा र व्यक्तिगत रूपमा पनि कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिणी र पश्चिमी क्षेत्रमा कफि खेती विस्तार बढेको छ । नेपाल चिया तथा कफि विकास बोर्डको तथ्याङ्कअनुसार इलाममा ९ सय २० कृषक व्यवसायीक रुपमा कफि खेतीमा आबद्ध छन् ।
५ वर्ष अघिबाट इलाममा व्यवसायीक रुपमा कफि खेती विस्तार हुन थालेको    थियो । इलाममा कफि खेती अहिले ९१ हेक्टर क्षेत्रफलमा विस्तार भइसकेको छ  । परम्परागत रुपमा कफि खेती हुँदै आएपनि पहिले बजारको समस्या थियो । तर अहिले कफिको फल बिक्रि गर्न समस्या नभएको देउमाई नगरपालिकाका किसान राम दाहालले बताए ।
इलाममा अहिले कफिको कूल उत्पादन वार्षिक २० मेट्रिक टन रहेको छ । जिल्लामा ३० हजार हेक्टरमा कफि खेती विस्तार गर्न सकिने चिया तथा कफि विकास बोर्डको तथ्याङ्क छ । कफि खेती विकासको सम्भाव्यता अध्ययन गर्दै विरुवा उत्पादन र खेती विस्तारको काम बोर्डले गर्दै आएको छ । इलामको रोङ, माङ्सेबुङ, फाकफोकथुम र चुलाचुली गाउँपालिकामा कफि खेतीको व्यवसायी खेती हुन्छ ।
इलाम नगरपालिका, माई नगरपालिका र देउमाई नगरपालिकामा कफि खेती विस्तार हुँदै आएको हो । इलामको माटो कफि खेतीका लागि राम्रो भएकाले किसानले कफिका विरुवा रोपण गर्दै आएका हुन् । कफि खेती ८ सय देखि १६ सय मिटरसम्म गर्न सकिन्छ ।
कृषकस्तरबाट कफि खेती थालिएपछि कफिको दाना खरिद गर्ने व्यवसायी किसानका घर घरमा पुग्ने गरेका छन् । कफि बगानमा छहारीका लागि किसानले केरा र  एबोकाडोको पनि खेती गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार