Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम २ को उपनिर्वाचन कांग्रेसलाई कति सहज ?

इलाम २ को उपनिर्वाचन कांग्रेसलाई कति सहज ?

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २९ २०८०


इलाम २ को उपनिर्वाचन कांग्रेसलाई कति सहज ?

इलाम– इलाम क्षेत्र २ को रिक्त प्रतिनिधिसभा सदस्यका लागि आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले कसलाई उम्मेदवार बनाउला ? आउँँदो उपनिर्वाचन इलाम कांग्रेसको सन्दर्भमा निकै रोचक र महत्वपूर्ण बन्ने देखिएको छ । विगत निर्वाचनको परिणाम, गठबन्धन र पराजित उम्मेदवारबाट भएको चुनावी समीक्षाले आउँदो उपनिर्वाचन इलाम कांग्रेसका लागि कस्तो रहला भन्ने धेरैको चासो छ ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट विजयी भए । तर, नेम्बाङले जित्दा न एमाले क्षेत्र २ मा ‘ढुक्क’ रहन सक्यो, न पराजित हुँदा कांग्रेसले चित्त बुझायो । आफूलाई हराइएको भन्दै कांग्रेस उम्मेदवारले निर्वाचन आयोगमा निवेदनसमेत दिए । त्यो निर्वाचनमा कांग्रेस उम्मेदवार तथा जिल्ला सभापति डम्बरबहादुर खड्का नेम्बाङसँग एक सय १४ मतको अन्तरले मात्रै पराजित भए । नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । निकटतम् प्रतिद्वन्द्वी खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । जिल्लाका एक कांग्रेस नेता भन्छन्, ‘प्राविधिक हिसाबले मात्रै कांग्रेस हारेको छ, अघिल्ला निर्वाचनहरूको तुलनामा यसलाई कांग्रेसले मतदाताको मन जितेको मान्नुपर्छ ।’

हुनपनि, २०५६ सालयता भएका सबै संसदीय निर्वाचनमा नेम्बाङले अरूलाई जित्ने मौका दिएनन् । त्यतिमात्र होइन, नेम्बाङले जितेको मतान्तर पनि निकटम उम्मेदवारभन्दा सम्भवतः चार अक्षरभन्दा कमको थिएन । तर, गत निर्वाचनमा एक सय १४ मतान्तरले मात्रै विजयी हुँदा न नेम्बाङ सन्तुष्ट थिए, न उनको दल एमाले । ‘यसअघि पाँच–छ हजार मतान्तरले जितिरहेको ठाउँमा एक सय १४ मतको अन्तर आउनुमा पार्टीले गम्भीर समीक्षा गर्नुपर्छ,’ जिल्ला तहका एक एमाले नेता भन्छन्, ‘नेम्बाङजस्तो व्यक्तित्वले विपक्षी उम्मेदवारलाई एक सय १४ मतान्तरले मात्रै जित्नु आउँदा दिनका लागि पार्टीको चुनौती हो ।’

कांग्रेसले भने त्यो निर्वाचनको ‘गम्भीर’ समीक्षा गरेको थियो । कांग्रेस निर्वाचनको समीक्षा बैठकबाट बाहिरिएको भिडियोमा पराजित उम्मेदवार खड्का धर्धरी रोएको देखियो । र, उनीसहित उनीनिकटले चुनावी समीक्षा गरेको सुनियो– कांग्रेस उम्मेदवारमाथि अन्तरघात गरियो, आफ्नै दलको अर्को गुटका नेताले पार्टीलाई हराए । गत निर्वाचन कांग्रेसका लागि अवसर पनि थियो । किनकि, त्यसअघिको स्थानीय तह निर्वाचनमा पनि नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न दलसँग गठबन्धन गरेपछि कांग्रेसले स्थानीय तहमा अघिल्लो (२०७४ सालकोभन्दा) नतिजा सुधारेको पनि थियो । तर, कांग्रेसले नतिजा सुधार्दैगर्दा आफूलाई महत्वपूर्ण साथ दिएको माओवादीलाई भने जिताउन सकेन । गठबन्धनका सबैजसो माओवादी उम्मेदवार पराजित भए ।

आउँदो उपनिर्वाचनको मुखमा सत्ता समीकरण फेरिएको छ । अहिलेकै परिवेश हेर्ने हो भने कांग्रेससँग माओवादी छैन, नेकपा ९एकीकृत समाजवादी० छैन र जनता समाजवादी पार्टी (जसपा) पनि छैन । सम्भवतः यो उपनिर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाँदैछ । कांग्रेस सभापति खड्का आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्छन् । ‘विगत निर्वाचनपछि कांग्रेस गाउँमा सक्रिय छ, २ नम्बर क्षेत्रमा पनि हाम्रा मतदाता बढेका छन्, कांग्रेसप्रति मतदाताको विश्वास बढेको छ,’ उनी भन्छन्, ‘अहिले कांग्रेस एक छ, उपनिर्वाचनमा हामी जित्छौं ।’

खड्का ०७९ को निर्वाचनमा राष्ट्रिय छवि भएको (नेम्बाङ) व्यक्तिसँग पनि झिनो मतान्तरले मात्रै पराजित हुनुले पनि आउँदो निर्वाचनमा राम्रो संकेत गरेको दाबी गर्छन् । ‘हामीलाई गत निर्वाचनभन्दा आउने उपनिर्वाचन सहज छ,’ उनले भने, ‘पार्टी संगठन र मतदाताबीचको सम्बन्ध सुध्रिएको छ ।’ कांग्रेसले उपनिर्वाचनको तयारीका क्रममा आफूले गरेका राम्रा काम मतदातासम्म लैजाने र अब पार्टी कसरी अघि बढ्नुपर्छ भनेर मतदातासँगै छलफल गरिरहेको कांग्रेसले जनाएको छ । ‘सबै वडा र पालिकामा पार्टीका गतिविधि गरिरहेका छौं,’ जिल्ला सभापति खड्काले भने, ‘सहकारी, लघुुवित्त, पशुरोग र कोरोना महामारीलगायतले थलिएका किसानलाई कसरी साथ दिन सकिन्छ भनेर हामीले गाउँ तहसम्मै छलफल गरिरहेका छौं ।’

आउँदो उपनिर्वाचनमा सभापति खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा र नगेन्द्र कुमाललगायतको नाम उम्मेदवारका लागि चर्चामा छ । ०७९ को निर्वाचनमा इलाम क्षेत्र २ मा समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए । कांग्रेस जिल्ला सचिव पूर्णप्रसाद गौतम पनि पार्टीभित्रको आन्तरिक तयारी र गठबन्धनमा आबद्ध केही मतदाताको ‘कमजोर बुझाइ’लाई ०७९ सालमा कांग्रेस पराजित हुनुको कारण ठान्छन् ।

‘यो क्षेत्र कांग्रेस एक्लैले पनि जित्ने नै क्षेत्र हो,’ सचिव गौतम भन्छन्, ‘बहुदलीय प्रतिस्पर्धामा निर्वाचन महत्वपूर्ण हुने भएपनि हामीमा आफ्नो दलको चुनाव चिह्नबाहेक अरूमा भोट हाल्नै हुँदैन भन्ने गलत बुझाइ छ । गठबन्धनको संस्कृति परिपक्व भएको छैन । पार्टीभित्रको आन्तरिक तयारी पूर्ण नहुँदा पनि गत निर्वाचनमा कांग्रेस पराजित हुनुपरेको हो ।’ पालिका पेजबाट

प्रतिक्रिया
सम्बन्धित समाचार