Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा फागुन २७ देखि चैत २ सम्म दादुरा–रुबेला खोप सञ्चालन

इलाममा फागुन २७ देखि चैत २ सम्म दादुरा–रुबेला खोप सञ्चालन

  • सन्देश सम्बाददाता
  • शनिबार, फाल्गुन १९ २०८०


इलाममा फागुन २७ देखि  चैत २ सम्म दादुरा–रुबेला खोप सञ्चालन

इलाम । यही फागुन २७ देखि इलाममा बालबालिकामा लाग्ने दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी चैत २ सम्म सञ्चालन हुने अभियानमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार सात सय २२ बालबालिकालाई दादुरा रुबेला खोप लगाउने तयारी गरिएको कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए ।

यो खोप अभियानका लागि जिल्लाका ९३ स्वास्थ्य संस्थामा चार सय २४ खोप केन्द्र तय गरिएको छ । विभिन्न स्वास्थ्य चौकी, विद्यालय र अन्य सार्वजनिक स्थानहरूमा खोप केन्द्रका रूपमा तय गरिएको पण्डितले जानकारी दिए । इलाममा गतवर्ष जिल्लामा पाँच वर्षमुनिका १४ बालबालिकाले कुनै पनि खोप लगाएका थिएनन् । यस्तै, दुई सय ८९ बालबालिकाको पूर्ण खोपमध्ये केही खोप छुटेको पाइएको थियो ।

तर, यो वर्ष खोप पाउने उमेरसमूहका सबै बालबालिकाको अवस्था बुझ्न गत माघमा सर्वेक्षण गरिएपनि त्यसको नतिजा भने आइनसकेको खोप सुपरभाइजर पण्डित बताउँछन् । गतवर्ष छुटेका सबै बालबालिकालाई पूर्ण खोपको अभियानमा खोप लगाइएको बताइएको छ । जन्मेदेखि १५ महिनासम्म दिइने नियमित खोपमा अहिलेको अभियानमा चलाइने खोप थप डोज भएको बताइएको छ । ‘नौ महिना पूरा भएर भर्खरै मात्र खोप लगाइएको छ भनेपनि त्यस शिशुलाई थप डोजको खोप लगाउनुपर्छ, यो खोपले शिशुको रोगसँग लड्ने शक्ति बढाउने काम गर्छ,’ स्वास्थ्य कार्यालय प्रमुख आदित्य शाक्यले भने, ‘खोप लगाएपछि सामान्य ज्वरो आउन सक्छ, यसले कुनै असर गर्दैन, गरेको पनि छैन, यसमा सम्पूर्ण अभिभावक सचेत हुनुपर्छ ।’

दादुरा रुबेला रोग हुँदा बालबालिकालाई उच्च ज्वरो आउने, शरीरमा मसिना डाबर देखिने, हाडजोर्नी सुनिने, रक्तस्राव हुने, मस्तिष्कमा असर देखापर्ने, अन्धोपन हुने र बालबालिकाको मृत्युसम्म हुने गरेको बताइएको छ । यो रोगका कारण उपचार भएका कतिपय बालबालिकाले अपाङ्गताको अवस्थामा समेत रहनुपरेको कार्यालय बताउँछ । स्वासप्रस्वासको माध्यमद्वारा एकबाट धेरै बालबालिकामा सर्नसक्ने प्राणघातक दादुरा रुबेला रोगमुक्त देश बनाउन सरकारले यसअघि सन् २०२३ लाई लक्ष्य राखेको थियो । तर, देशभर यो रोग पूर्ण नियन्त्रण हुन नसकेपछि आगामी सन् २०२६ सम्ममा नेपालमा दादुरा रुबेला रोगमुक्त देश बनाउने लक्ष्य छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार