इलाम : प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलको फाइनल खेलमा १ लाख ६२ हजार भन्दा बढि गेटमनी संकलन भएको छ । आयोजक माईभ्याली फुटबल क्ल्बका अनुसार फाइनल खेलमा मात्र १ लाख ६२ हजार ४ सय रुपैया टिकटबाट संकलन भएको हो ।
आयोजकले फाइनल खेलका लागि १ सय रुपैया टिकट दर कायम गरेको थियो । फाइनल खेलपछि क्लबले महिला फुटबल खेल सफल बनाउन सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेको छ । इलाम सदरमुकाममा १ दशकपछि महिला फुटबल यस बर्षबाट फर्किएको छ ।
गत फागुन ३ गतेबाट ७ गतेसम्म क्लब ओएसिस क्लबले क्लब स्तरिय महिला फुटबल आयोजना गरेको थियो । त्यसको ३ दिनपछि माईभ्याली फुटबल क्लबले अन्तरपालिका उपप्रमुख महिला फुटबल संचालन गरेको हो ।
इलाममा २०७० पुस २८ देखि माघ ७ गतेसम्म प्रथम लुम्बिनी महिला राष्ट्रिय लिग प्रतियोगिता संचालन भएको थियो । जसमा समूह ’क’ मा सशस्त्र प्रहरी (एपिएफ), पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल छन् । यस्तै समूह ’ख’ नेपाल प्रहरी, त्रिभुवन आर्मी, मध्याञ्चल र पश्चिमाञ्चलका टोली थिए ।
त्यसअघि २०४३ सालमा अञ्चलस्तरीय प्रतियोगिता भएको थियो । सोही प्रतियोगिताबाट नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिताका लागि नेपाली महिला टिम छनौट गरेको पुर्व राष्ट्रिय खेलाडी मंगेश बस्नेतले बताए ।