इलाम । जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको आयोजनामा १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । माङसेबुङ गाउँपालिका–२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख जयप्रकास राईले उद्घाटन गरेका थिए । विद्यालयस्तरबाट नै खेलाडीहरुको उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।
उद्घाटन सत्रमा निवर्तमान प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रमन, माई नगरपालिका प्रमुख खम्बसिंह लिम्बु, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, माईजोगमाई उपाध्यक्ष प्रविना राई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलकुमारी लावती, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई लगायतको आथित्यता रहेको थियो ।
फागुन १२, १३ र १४ गते हुने प्रतियोगितामा प्रत्येक पालिकास्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले बताए । प्रतियोगिता अन्तरगत छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टमा १० वटै पालिकाबाट एक हजार दुई सय जनाको सहभागिता रहने कार्यालय प्रमुख भट्टराईले बताए । उनीहरुलाई स्थानीय चिसोपानी पञ्चमी बजार र रक्से बजारका २४ वटा होटल र होमस्टेमा व्यवस्थापन गरिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते, तेक्वान्दो र उसु खेल सञ्चालन हुनेछन् । छात्र र छात्रा दुवैको दौडतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटरको दौड एवम् ४००० मिटर र ४४०० मिटरको रिले दौड प्रतियोगिता सञ्चालन हुनेछन् ।
त्यस्तै, उफ्रने र फ्याँक्नेतर्फ छात्रतर्फ हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याब्लिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्ड र छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याब्लिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्ड सञ्चालन हुनेछन् ।
मार्सल आर्ट अन्तरगत कराँतेमा छात्रतर्फ अन्डर ४२ केजी, अन्डर ४७ केजी, अन्डर ५२ केजी, अन्डर ५७ केजी, अन्डर ६२ केजी र काता ९एकल० एवम् छात्रातर्फ अन्डर ४० केजी, अन्डर ४५ केजी, अन्डर ५० केजी, अन्डर ५५ केजी, अन्डर ६० केजी र काता ९एकल० सञ्चालन हुनेछन् ।
तेक्वान्दोमा छात्रतर्फ अन्डर ४५ केजी, अन्डर ४८ केजी, अन्डर ५१ केजी, अन्डर ५५ केजी, अन्डर ५९ केजी र एकल पुम्से एवम् छात्रातर्फ अन्डर ४२ केजी, अन्डर ४४ केजी, अन्डर ४६ केजी, अन्डर ४९ केजी, अन्डर ५२ केजी र एकल पुम्से सञ्चालन हुनेछन् । त्यस्तै, उसुमा थाओलुतर्फ र सान्सौतर्फ छात्र र छात्रा दुवैतर्फ प्रतियोगिता हुनेछ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष ननाघेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा सम्पूर्ण खेलको नतिजा एकीकृत गरी पालिकाहरु विजेता र उपविजेता घोषित हुनेछन् । विजेता टिम एवम खेलाडीले राष्ट्रपति रनिङ शिल्ड र नगद पुरस्कार तथा उपविजेता टिम एवम् खेलाडीले ट्रफी र नगद पुरस्कार पाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराईने अध्यक्ष बाँस्तोलाले बताए ।
विगतमा इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन गर्न थालेको हो । गत वर्ष फाकफोकथुम गाउँपालिकामा प्रतियोगिता सञ्चालन भएको थियो । जिल्लास्तरीय खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्ष्यका साथ सदरमुकामबाहिर लैजाने निर्णय गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले बताए । प्रतियोगिता प्रत्येक वर्ष फरक–फरक पालिकामा सञ्चालन गर्ने सहमति भएको उनले बताए ।



