सन्दकपुर (जमुना) । इलामको पर्यटकीय गाउँपालिका ५ स्थित पर्यटकीयस्थलमा चरा अध्ययन गर्न आउनेको संख्या बढ्दै गएको छ । लोपउन्मुख वन्यजन्तु रेडपाण्डा अध्ययनका लागि आउने पर्यटकहरुको संख्या बढ्दै गएकाबेला चराहरुको खोज अध्ययन अनुसन्धान गर्न आउने पर्यटकको संख्या बढ्दै गएको हो ।
सन्दकपुर ५ को चोयाटार, हाँगेथाम, कैयाकट्टा, जौबारी, आहालभञ्ज्याङ र गैरीबास क्षेत्रमा वन्यजन्तुुुसँगै चराहरुको अध्ययन र अनुसन्धान गर्न आउने पर्यटकहरुको संख्या बढेको वडाअध्यक्ष यज्ञबहादूर गुरुङले बताए ।
वन्यजन्तु र चराहरुको अध्ययनका लागि भारत र नेपाल भएर पर्यटकहरु पुग्ने गरेका छन् । चराहरुको अध्ययन गर्ने पर्यटकहरुको संख्या पछिल्लो समय बढ्दै गएका हुन् । कैयाकट्टा, हाँगेथाम क्षेत्रमा पछिल्लो समय तेस्रो मुलुकका पर्यटकहरु चरा अध्ययनका लागि आउन थालेका हुन् । जमुनाबासीको अभियानमा ढापपोखरी (जलभण्डार) निर्माण गरेपछि चराहरु पनि नजिककै जंगलमा आएर बास बस्ने गरेका छन् । जसका कारण चराको अध्ययन गर्न आउने पर्यटकको संख्या बढेको वडा सदस्य कुमार गुरुङले बताए ।
झापाका देवेन खरेलले दुई पटक सन्दकपुर ५ को चोयाटार, ढापपोखरी, हाँगेथाम र कैयाँकट्टा क्षेत्रमा चरा अध्ययन गरेका छन् । खरेलले यी क्षेत्रमा चार दिन चराको अध्ययन गरेका थिए । अध्ययनका क्रममा १ सय १ प्रजातिका चराहरुको अध्ययन गरेको वडा सदस्य गुरुङले बताए । खरेलले सन्दकपुर ५ को इङ्लाको चोयाटार क्षेत्रमा पनि चराहरुको अध्ययन गरेका थिए ।
लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको अध्ययनका लागि पर्यटक र अध्ययनकर्मी आउने गरेको सन्दकपुर ५ का पर्यटकीय क्षेत्रमा अहिले चराहरुको अध्ययन गर्नका लागि आउन थालेका हुन् । सन्दकपुर ५ को कैयाकट्टामा पर्यटकहरुले प्याकेज नै बनाएर चराहरुको अध्ययनका लागि आउने गरेका छन् ।
सयौँ प्रजातिका चराहरुको अध्ययनका लागि भारतको विभिन्न राज्य र युरोपका पर्यटकहरु दैनिक रुपमा आउने गरेको पर्यटन व्यवसायी सान्तानु प्रसादले बताए । उनले भने–‘वनजंगल, वन्यजन्तु र चराहरुको संरक्षण गरेमा उनीहरु देखाएर आम्दानी गर्न सकिन्छ भन्ने अहिले प्रमाणित हुँदै गएको छ ।’ चोयाटार, हाँगेथाम, गैरीबास क्षेत्रमा पर्यटकहरु र अध्ययनकर्मी वन्यजन्तुकर्मीसँगै पर्यटकहरु चराहरुको अध्ययनका लागि आउने गरेका छन् । हागेथम क्षेत्र चराहरुको अध्ययनका लागि राम्रो गन्तव्य मानिदै आएको छ ।
कैयाकट्टामा बढी पर्यटक
पछिल्लो समय कैयाकट्टा क्षेत्रमा विश्वभरका प्रकृतिप्रमेमी, चराविज्ञ र वन्यजन्तु विज्ञको आकर्षण बढेको हो । चरा, वन्यजन्तु र लेकाली फुलहरु सहजै अध्ययन गर्न पाइने भएपछि कैयाकट्टामा विश्वभरका पर्यटकहरुको आकर्षण बढेको छ ।
सन्दकपुर ५ को कैयाकट्टामा ५ वटा घर मात्रै छन् । सीमा क्षेत्रको सानो बस्ति कैयाकट्टामा विश्वभरका वन्यजन्तु, चराविज्ञ र प्रकृतिप्रेमीको दिनहुँ बास हुन्छ । कैयाकट्टाको नेपाली बस्ती जंगलले घेरिएको छ । भारतसँग सीमा जोडिएको कैयाकट्टाको नेपाली जंगलमा वन्यजन्तु र चराचुरुङ्गीको अध्ययन गर्ने पर्यटकको संख्या बढेको वडाअध्यक्ष यज्ञबहादूर गुरुङ्गले बताए ।
कैयाकट्टामा लोपउन्मुख वन्यजन्तु, चराहरुको अध्ययन र अवलोकनका लागि विश्वभरका पर्यटकहरुको दैनिक रुपमा बाक्लो आवतजावत हुन्छ । लोपउन्मुख रेडपाण्डा यहाँ सहजै पाइन्छ । रेडपाण्डासँगै थुप्रै वन्यजन्तु कैयाँकट्टामा बसेर सहज अध्ययन र अवलोकन गर्न सकिन्छ । चराहरुको त असंख्य प्रजातीको अध्ययन गर्न पाइन्छ । चरा र वन्यजन्तु हेर्नका लागी विश्वभरकै प्रकृतिप्रेमी, विज्ञहरु, अध्ययनकर्मी र पर्यटक कात्तिकदेखि पुषसम्म आउने गरेका छन् । पर्यटकहरुले विहान बेलुकी चराहरुको अध्ययन गर्छन्, दिउँसो रेडपाण्डाको अवलोकन गरि राती जंगल सफारी गर्दै आएका छन् ।
कैयाकट्टामा बढीमा मात्रामा युरोपका पर्यटक र वन्यजन्तु, चराविज्ञहरु आउने गरेका छन् । कैयाकट्टा विश्वभरका पर्यटकहरु आउन थालेपछि पर्यटन प्रवद्र्धनका काम गर्र्दै आएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।
अमेरिका, बेलायत, प्रान्स र जर्मन नागरिकको कैयाकट्टामा बास धेरै हुन्छ । लोपउन्मुख वन्यजन्तुहरु धेरै मात्रामा पाइने भएकाले कैयाकट्टा भ्रमण गर्नेहरुको संख्या अहिले बढेको हो । हाब्रेनेस्ट नामक संस्थाले प्याकेजकै विकास गरि विश्वभरका पर्यटकहरुलाई वन्यजन्तुको अध्ययन, अवलोकनमा सहजिकरण गरिरहेको छ । यहाँ लोपउन्मुख काँडे भ्याकुरको पाइन्छ ।