Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा ज्ञानदिलदास साहित्यिक, ज्ञानदिलदासबारेमा अध्ययन गर्नुपर्नेमा जोड (तस्बिरहरु)

फाकफोकथुममा ज्ञानदिलदास साहित्यिक, ज्ञानदिलदासबारेमा अध्ययन गर्नुपर्नेमा जोड (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शुक्रबार, फाल्गुन ११ २०८०


फाकफोकथुममा ज्ञानदिलदास साहित्यिक, ज्ञानदिलदासबारेमा अध्ययन गर्नुपर्नेमा जोड (तस्बिरहरु)

फाकफोकथुम (इलाम) । इलामको फाकफोकथुम ३ आमचोकमा सन्तकवि ज्ञानदिल दासको प्रतिमा अनावरण र प्रथम ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ इलामको फाकफोकथुममा शुरु भएको छ । फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकमा सनिवारसम्म सम्मेलनको उद्घाटन गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले गरेका थिए ।
ज्ञानदिल दासको जन्मभूमि ‘आमचोक‘’को पहिचानसहित उहाँले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गर्नुभएको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलनमा नेपाल, भारतका साहित्यकार, कवि र उनका अयुयायीहरुको उपस्थिति रहेको छ ।


ज्ञानदिलदास सहित्य सम्मेलन आयोजक मूल समारोह समितिका अध्यक्ष गुरुभक्त लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा भारतको दार्जिलिङ र सिक्किमबाट साहित्यकार, कविहरुको उपस्थिति रहेको छ । सम्मेलनमा वक्ताहरुले ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक कार्यक्षमताको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।


सन्तकवि ज्ञानदिल दासको जन्मभूमिबारे कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको तथ्याङ्क तयार गरी सत्य इतिहास स्थापित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा भारतका प्रवाषी नेपाली साहित्यकार, लेखक समालोचक डा गोकुल सिन्हा, भारत सिक्किमका प्राध्यापक डा सुमन ढकाल, गुरु ज्ञानदिल धाम मन्दिर प्रवद्र्धन समिति सिक्किमका अध्यक्ष गोविन्द सर्मा, केचना कंचनजंघा पर्यटन विकास समिति इलामका कार्याकारी निर्देशक केशवकुमार द्यौराली, लामिछाने बन्धु समाज केन्द्रिय उपाध्यक्ष सनकराज लामिछाने, तेह्रथुम क्याम्पसका प्रमुख पोष्टराज लामिछाने लगायतले सन्त ज्ञानदिलदासका समाजसुधारका कामहरुको लिपिवद्ध गर्नुपर्नेमा जोड दिए ।


‘साहित्य सम्मेलनमा सहभागी हुन आउनेहरुलाई सन्तकवि ज्ञानदिल दासको जन्मभूमिको भोली भ्रमण गराउने योजना रहेको छ । ज्ञानदिल दासको जन्म आमचोकमा भएको विभिन्न तथ्यले प्रमाणित गरेपनि प्रचारप्रसार नहुँदा आमचोक ओझेलमा पर्दै आएकाले त्यसलाई अझ प्रचारप्रसार गर्ने योजना रहेको आयोजक समितिले जनाएको हो ।
कार्यक्रममा फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र लिम्बुले उपस्थितलाई धन्यवाद ज्ञापन गरेका थिए । आयोजक समितिका अर्जुन लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव बिशाल राईले गरेका थिए । कार्यक्रममा ज्ञानदिलदास प्रतिष्ठानलाई जग्गा दिने जग्गादाता केदारनाथ लामिछाने र ददिराम लामिछानेको परिवारलाई सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा भारत सिक्किमिका प्राध्यापक डाक्टर सुमन ढकाल, र डा गोकुल सिन्हालाई सम्मान पत्र प्रधान गरिएको थियो । कार्यक्रमको दोस्रो दिन सनिवार ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्वको बारेमा प्रकाश परियारले कार्यपत्र पस्तुत गर्नेछन् । ज्ञानदिल दासको जीवनी सम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयमिक व्यक्तित्वको बारेमा साहित्यकार डा. देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि विभिन्न व्यक्तिहरुले टिप्पाणीसहित प्राज्ञिक बहस र छलफल गर्ने कार्यक्रम रहेको छ ।

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्म जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा फाकफोकथुम–३ आमचोक जोरधारमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको थियो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्ण प्रारम्भिक शिक्षादीक्षा घरमा नै कुरुकुलीन पद्धतिबाट भएको थियो । जब उनी पाँचथर नाँगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए, तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त–साहित्यका प्रकाण्ड विद्वान थिए ।

ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिङ्गीय विभेदका विरुद्ध विद्रोह गरेको पाइन्छ । जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूवार्ध नेपालमा र उत्तरार्ध भारतको दार्जिलिङ र सिक्किममा बिताएका थिए ।

सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेको पश्चिम सिक्किमको गेलिङ तीर्थस्थल बनेको छ र हाल गेलिङधामले प्रसिद्ध छ । उनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले ओखलढुङ्गाको रुम्जाटारलाई केही समय मुख्यथलोको रुपमा लिएर धर्म प्रचार समेत गरेको पाइन्छ । उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि.स. १९४० कात्तिक २५ भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार