Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका किसान टनेलमा तरकारी खेती गर्दै

इलामका किसान टनेलमा तरकारी खेती गर्दै

  • सन्देश सम्बाददाता
  • बुधबार, फाल्गुन ९ २०८०


इलामका किसान टनेलमा तरकारी खेती गर्दै

इलाम  । इलामका किसानहरू टनेलमा तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कम लागतमा धेरै उत्पादन हुने भएपछि किसानहरूले टनेलमा तरकारी खेती गरी आम्दानी लिन थालेका हुन् । सूर्योदय नगरपालिका १० याङका अरुण थापाले ४ वर्षदेखि टेनलमा तरकारी खेती गर्दै आएका छन् । ७ वर्षदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका थापाको बारीमा अहिले १० वटा टनेल रहेका छन् । तरकारी खेती टनेलमा गर्दा हावापानी, तुसारो र सितलहरबाट जोगाउन सकिने भएपछि थापाको मासिक आम्दानी पनि राम्रो छ । १० रोपनी जग्गामा थापाले टनेल घर बनाएका छन् ।


टनेलमा रायोको साग, काउली, भ्यान्टा, मुला, टमाटर लगायतका मौसमी र बेमौसमी तरकारीहरू किसानले उत्पादन गर्छन् । उत्पादित तरकारीहरू स्थानीय बजार सहित बाहिरी जिल्लामा राम्रो माग भइरहेको नमुना थापा कृषि फार्मका संचालन अरुण थापाको अनुभव छ ।
तरकारी उत्पादनका लागि प्राङ्गारिक, घरायसी मलको प्रयोग गर्न र सिँचाइको लागि समेत सहज हुने गर्छ । जसले गर्दा किसानले टनेलमा व्यवसायीक तरकारी खेती गर्दै आएका हुन् । थोरै क्षेत्रफल र कम लागतमा धेरै आम्दानी लिन सकिने भएपछि टनेलमा तरकारी खेती गर्ने किसानको संख्या इलाममा बढ्दै गएको हो ।
कम लागतमा बढी मात्रामा स्वच्छ तरकारी उत्पादन हुने, रोगकिराको प्रकोप कम, रेखदेख र सुरक्षा गर्न सहज भएकोले टनेलमा तरकारी खेती राम्रो भएको सन्दकपुर ३ का किसान टिका खतिवडाले बताए ।
इलामका उच्च पहाडी क्षेत्रका किसानले घरको करेसाबारीमा स–सना टनेल लगाइ तरकारी खेती गर्दै आएका छन् । तुसारो, हिउँ र वर्षातमा अधिक पानी पर्दा घरको भन्साका लागि बजारबाट तरकारी खरिद गर्नुपर्ने बाध्यता अहिले टनेल खेती प्रविधिले हटेको छ ।
रोग, किराले कमै आक्रमण गर्ने, पशु चौपाया, असिना, झरी, हावाबाट पनि सुरक्षित हुने, विषादी पनि न्यून प्रयोग हुने र उत्पादन पनि राम्रो हुने भएकोले टनेलमा तरकारी खेती बढेको कृषि प्राविधिक रोशन खतिवडाले बताए ।
टनेलमा आधारित तरकारी खेती प्रवद्र्धनका लागि कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखाबाट सहयोग हुँदै आएको छ । स्थानीय तहले प्लास्टिक टनेल अनुदानमा किसानलाई प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार